फाइजरले बनाएको कोरोना विरुद्धको खोपले बेलायतमा पायो अनुमति
आउने सातादेखि बिरामीलाई लगाइने
बीबीसी, १७ मंसिर । बेलायतले फाइजर–बायो–एनटेकले बनाएको कोरोना विरुद्धको खोपलाई प्रयोग गर्न अनुमति दिने विश्वकै पहिलो देश बनेको छ ।
ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो खोप आगामी सातादेखि बेलायती नागरिकलाई लगाउन सुरु गर्न सकिन्छ । खोप लगाउन केही दिनमै सर्वाधिक जोखिममा रहेका मानिसबाट सुरु हुने अपेक्षा गरिएको छ ।
बेलायतले फाइजरको खोपको चार करोड डोज किनिसकेको छ । जुन दुई करोड मानिसका लागि पर्याप्त हुनेछ । तीमध्ये एक करोड मात्रा तुरुन्तै उपलब्ध हुने र आठ लाख मात्रा केही दिनमा आइपुग्ने बताइएको छ । खोपको इतिहासमा यो सबैभन्दा छिटो स्वीकृति पाउने खोप समेत बनेको छ । दश महिनाको अवधिमा नै खोप योजनाबाट अनुमतिसम्म आइपुगेको हो । कतिपय खोपका लागि यो अवधि एक दशकभन्दा लामो भएका थिए ।
एनएचएसका प्रमुख कार्यकारी सर साइमन स्टेभेन्सले यूकेको स्वास्थ्य सेवाले देशको इतिहासमै सबैभन्दा बृहत् खोप कार्यक्रमको तैयारी गरिरहेको बताएका छन् । खोप कार्यक्रमका लागि लगभग ५० अस्पताल तैयारी अवस्थामा राखिएको र अन्य खोप केन्द्रहरू तयार गर्न थालिएको छ । विज्ञहरूले खोप सुरु भएपछि पनि मानिसहरू सतर्क हुनुपर्ने र स्वास्थ्य सावधानीहरू अपनाउनु पर्ने बताएका छन् ।
यो कस्तो खोप हो ?
यसले सम्पूर्ण रूपमा प्रयोगात्मक प्रकृया अपनाएको छ जुन प्रकृयामा मानव शरिरको रोग प्रतिरोधी क्षमतालाई कोरोनाभाइरस विरूद्ध लड्न अभ्यस्त तुल्याउन उक्त भाइरसको जेनेटिक कोडको एक भागलाई सुई मार्फत शरिरमा प्रवेश गराउने विधि संलग्न छ । पहिलेका परिक्षणहरूले उक्त खोपले शरिरलाई कोरोनभाइरससँग लड्न उक्त भाइरस विरोधी एन्टिबडि निर्माण गर्न र टि–सेल भनिने शरिरको रोध प्रतिरोधी क्षमताको अर्को भाग तयार पार्न अभ्यस्त तुल्याउने देखाएका थिए । तीन हप्ताको अन्तरालमा उक्त खोपको दुई मात्रा आवश्यक पर्दछ ।
अमेरिका, जर्मनी, ब्रजिल, आर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परिक्षणहरूमा उक्त खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरू मध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस सङ्क्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो । औषधि निर्माण कम्पनी फाइजरको विश्वासमा उसले यो वर्षको अन्त्यसम्ममा पाँच करोड मात्रा खोप आपूर्ति गर्न सक्नेछ र सन् २०२१ को अन्त्य सम्ममा उक्त कम्पनीले १ अर्ब तीस करोड मात्रा आपूर्ति गर्न सक्ने फाइजरले बताएको छ ।