विश्वभर कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या १३ लाख नाघ्यो

एजेन्सी, ३० कात्तिक । विश्वभर कोरोना भाइरसको सङ्क्रमणका कारण १३ लाखभन्दा धेरैको मृत्यु भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विश्वभर आइतबार बिहानसम्म १३ लाख १८ हजारभन्दा धेरैको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।
अहिलेसम्म पाँच करोड ४३ लाख २८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा तीन करोड ७८ लाख ७१ हजारभन्दा धेरै डिस्चार्ज भएका छन् ।
अहिलेसम्म विश्वका दुई सय १७ देशमा कोरोना सङ्क्रमण देखिएकोमा अमेरिका सबैभन्दा प्रभावित भएको छ । त्यहाँ सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या सबैभन्दा धेरै छ ।
अमेरिकामा अहिलेसम्म एक करोड १२ लाखभन्दा धेरैमा सङ्क्रमण देखिँदा दुई लाख ५१ हजारभन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै सङ्क्रमण देखिएकामध्ये ६८ लाख ९१ हजारभन्दा धेरै निको भएका छन् ।
कोरोनाबाट प्रभावित देशको दोस्रो नम्बरमा भारत छ । त्यहाँ ८८ लाख १४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक लाख २९ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै सङ्क्रमितमध्ये ८२ लाख पाँच हजारभन्दा धेरै निको भएका छन् ।
सङ्क्रमितको सङ्ख्या ५८ लाख ४८ हजारभन्दा धेरै भएको ब्राजिल कोरोनाबाट प्रभावित देशको तेस्रो स्थानमा छ । त्यहाँ अहिलेसम्म एक लाख ६५ हजारभन्दा धेरैको मृत्यु भएका सङ्क्रमितमध्ये ५२ लाख ९१ हजारभन्दा धेरै निको भएका छन् ।
सङ्क्रमितको सङ्ख्या १० लाख नाघ्नेमा फ्रान्स, रुस, स्पेन, बेलायत, अर्जेन्टिना, कोलम्बिया, इटली र मेक्सिकोसहित ११ देश भएका छन् । शनिबारसम्म नौ लाख ९७ हजार सङ्क्रमित रहेको मेक्सिकोमा आइतबार बिहानसम्म १० लाख तीन हजारभन्दा धेरै पुगेका हुन् ।
नेपालमा अहिलेसम्म दुई लाख आठ हजारभन्दा धेरैमा सङ्क्रमण देखिएकोमा एक हजार दुई सयभन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै सङ्क्रमितमध्ये अहिलेसम्म एक लाख ७० हजारभन्दा धेरै निको भएका छन् ।
अहिले नेपाल कोरोना प्रभावित देशको ३५ औँ स्थानमा छ । दुई दिन अघिसम्म नेपाल ३४ औँ स्थानमा थियो ।