कोरोनाविरूद्धको खोप ९० प्रतिशत सुरक्षित भएको औषधि निर्माता कम्पनी फाइजरको दावी
एजेन्सी, २४ कात्तिक । औषधि निर्माता कम्पनि फाइजर र बायोएनटेकले निर्माण गरेको कोरोनाविरूद्धको खोप ९० प्रतिशत सुरक्षित रहेको दावी गरेको छ । फाइजर र बायोएनटेकका अनुसार अहिलेसम्म ६ वटा देशका ४३ हजार ५ सय जनामा खोपको परीक्षण गरिएको छ ।
परीक्षण गरिएका व्यक्तिहरूमध्ये ९० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण नभएको र कसैमा पनि भ्याक्सिनको नकारात्मक असर नपरेको दावी गरिएको छ । समाचार संस्था सीएनएनका अनुसार कम्पनीले यो महिनाको अन्तिमबाट नै यस खोपलाई आपतकालिन अवस्थामा लगाउनका लागि अनुमति माग्ने योजना बनाएको छ ।
यदि भ्याक्सिनले कुनै पनि नकारात्मक असरबिना संक्रमण रोक्यो भने यो भ्याक्सिन नै हाल लागिरहेका विभिन्न निषेधाज्ञाबाट बाहिर निस्कने कारण बन्न सक्ने विज्ञहरूले जनाएका छन् । यसभन्दा अघि गरिएका परीक्षणहरूले भ्याक्सिनले शरीरमा एन्टिबडी र टी–सेलको उत्पादन गर्न मद्दत गर्ने उल्लेख गरेका थिए ।
यो भ्याक्सिन तीन हप्ताको फरकमा जम्मा दुई डोज दिनुपर्ने हुन्छ । अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणमा दोस्रो डोज दिएको ७ दिनपछि फेरि टेस्ट गर्दा यो भ्याक्सिनले मानिसमा कोरोना भाइरस विरूद्ध ९० प्रतिशत सुरक्षा दिएको कम्पनीको दावी छ । साथै फाइजरका अनुसार यो वर्षको अन्तिमसम्ममा विश्वभर ५ करोड र सन् २०२१ को अन्तिमसम्ममा १ अर्ब ३ करोड डोज निर्यात गर्न सक्ने विश्वास कम्पनीले लिएको छ ।