कोरोना पोजेटिभको सम्पर्कमा आएपछि डब्लूएचओका प्रमुख डा. टेड्रोस सेल्फ क्वारेन्टाइनमा
एजेन्सी, १७ कात्तिक । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हनोम घेबे्रयसस सेल्फ क्वारेन्टाइन भएका छन् ।
कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि उनले आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् । उनले आइतवार आफू कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि क्वारेन्टाइन भएको जानकारी दिएका छन् । साथै उनले आफूमा हालसम्म कुनैपनि कोरोनाको लक्षण नदेखिएको पनि बताएका छन् ।
संगठनका प्रमुख डा. ट्ड्रोसले ट्वीट गर्दै उनले लेखेका छन्, ‘म सँग सम्पर्कमा आएका एक जनामा कोरोना पोजेटिभ देखिएपछि मैले आफूलाई क्वारेन्टाइन गरेको छु । म स्वस्थ छु । म मा कुनैपनि लक्षण देखिएको छैन । तर, प्रोटोकलका अनुसार मैले आफूलाई सेल्फ क्वारेन्टाइन गरेको छु र घरबाटै काम गर्नेछु ।’
महामारीको बीच स्वास्थ्य सम्बन्धी मापदण्डलाई पूर्ण रुपले पालना गर्नुपर्ने भन्दै यसले कोरोनाको प्रसारलाई कम गर्नमा मदत पुग्ने डा. टेड्रोसको भनाइ छ ।
उनले कोरोना महामारी हालसम्म नियन्त्रणमा आइनसकेको र नियन्त्रणको कुनै संकेत पनि नदेखिएकाले अझ सतर्क हुनु आवश्यक रहेको पनि बताए ।