विदेशमा रहेका थप एक हजार नेपालीमा कोरोना संक्रमण
काठमाडौं, १६ कात्तिक । विश्वका विभिन्न स्थानमा कोरोना संक्रमणको दोस्रो लहरबाट यो साता थप एक हजार नेपाली कोरोना संक्रमित भएका छन्।
गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितध्ये ४ सय ५० जना रोमानियामा रहेका नेपालीहरु छन्।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्।
४२ देशमा रहेका नेपालीमध्ये ४३ हजार ५ सय ६९ जना कोरोना भाइरसको संक्रमणमा परेका छन्। तीमध्ये ३९ हजार ५ सय ६५ जना अर्थात् ९२ प्रतिशत कोरोनामुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।
गत सातासम्म १९ देशका २ सय ८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको गैरआवासीय नेपाली संघले जनाएको छ ।