बेलायतमा बढ्दै कोरोना संक्रमणको दर, दोस्रो पटक राष्ट्रव्यापी लकडाउनको घोषणा
बीबीसी, १६ कात्तिक । युरोपीय मुलुक बेलायतमा दोस्रो राष्ट्रव्यापी लकडाउनको घोषणा गरिएको छ ।
पछिल्लो समय युरोपमा कोरोना संक्रमणको दरमा फेरि वृद्धि हुन थालेपछि विभिन्न मुलुकहरुले लकडाउनको घोषणा गर्न थालेका छन् । यसै क्रममा बेलायत सरकारले पनि एक महिनाका लागि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको हो ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले बिहिवारदेखि लागू हुने गरि लकडाउनको घोषणा गरेका हुन् ।
प्रत्रकार सम्मेलनको क्रममा उनले बेलायमा कोरोना संक्रमणको दोस्रो चरणको लहर सुरु भएको भन्दै लकडाउन घोषणा गरिएको बताए ।
उनले यस पटकको लकडाउनमा पब, रेस्टुरेन्ट, जिम तथा अरु अत्यावश्यक बाहेकका पसलहरु आउँदो बिहीबारदेखि चार हप्ताका लागि बन्द हुने तर, विद्यालय, क्याम्पस तथा विश्वविद्यालयहरु भने खुला रहने बताए ।
बेलायतमा कोरोना संक्रमितको संख्या १० लाख नाघिसकेको र दिन प्रतिदिन नयाँ संक्रमित थपिने क्रम बढ्दै गएपछि सावधानी अपनाउनका लागि लागू गरिएको लकडाउन डिसेम्बर २ सम्म जारी रहने छ ।
यसअघि फ्रान्स, बेल्जियम, स्पेन लगायतका मुलुकमा पनि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरि सकिएको छ । कोरोना संक्रमणको दरमा वृद्धि हुन थालेपछि सावधानी अपनाउन युरोपका विभिन्न मुलुकहरुमा प्रतिबन्धहरु लागू गरिएको छ ।
यसअघि बेलायतमा कोरोना महामारीका कारण मार्चमा देशव्यापी लकडाउनको घोषणा गरिएको थियो ।
अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार बेलायतमा हालसम्म १० लाख १४ हजार ७ सय भन्दा बढी संक्रमित भइसकेका छन् भने ४६ हजार ६ सय ४५ जनाको मृत्यु भएको छ ।
शनिवार मात्रै बेलायतमा २१ हजार ९ सय १५ जना संक्रमित थपिएका छन् भने ३ सय २६ जनाको मृत्यु भएको छ ।