अमेरिकामा प्रतिसेकेण्ड एक जनामा कोरोना संक्रमण
एजेन्सी, १५ कात्तिक । अमेरिकामा कोरोना संक्रमितको संख्यामा उच्च वृद्धि भएको छ। वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा अमेरिकामा मात्रै एक लाख एक हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ ।
योसँगै अमेरिकामा सङ्क्रमितको संख्या ९३ लाख १६ हजार नाघेको छ । यस्तै थप ९ सय ८८ जनाको मृत्यु भएसँगै कोरोनाका कारण अमेरिकामा मात्रै ज्यान गुमाउनेको संख्या २ लाख ३५ हजार नाघेको छ ।
महामारी सुरु भएयता २ सातामै १० लाख संक्रमित थपिएका हुन्। फ्लोरिडामा शुक्रबार ५ हजार ५ सय संक्रमित थपिएसँगै संक्रमितको संख्या ८ लाख नाघेको छ। यस्तै, ९ वटा अन्य राज्यले पनि संक्रमितको संख्यामा रेकर्ड बनाएका छन्। ती राज्यमा इलिनोइस, इण्डियाना, मैनी, मिसिगन, मिनेसोटा, न्यु मेक्सिको, नर्थ क्यारोलिना, नर्थ डकोटा र ओहियो रहेका छन्।
बाल्टिमोरका स्वास्थ्य आयुक्त डा. लियाना वेनले हरेक सेकेण्डमा एक जनामा कोरोना पुष्टि भइरहेको बताइन्। उनका अनुसार अमेरिकामा हरेक २ मिनेटमा एक जनाको मृत्यु भइरहेको छ र यो संख्यामा वृद्धि भइरहेको छ। केही राज्यमा दुई जनामध्ये एक जनामा कोरोना देखिएको उनले बताइन्।
अमेरिकी स्वास्थ्य अधिकारीहरुले संक्रमित र मृतकको संख्या यही दरमा वृद्धि हुँदै जाने हो भने आगामी जनवरीको मध्यसम्ममा दैनिक २२ सय ५० अमेरिकीको मृत्यु हुने चेतावनी दिएका छन्, जुन अहिलेको प्रतिसेकेण्ड एक जनामा संक्रमण पुष्टि संख्याको तेब्बर हो।