युरोपमा गत साताको तुलनामा दैनिक मृत्युदर झण्डै ४० प्रतिशतले बढ्यो



Download our app to get more features

बीबीसी, १२ कात्तिक । युरोपमा कोभिडका कारण मृत्यु हुने सङ्ख्या गत साताको भन्दा झण्डै ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ ।

सङ्गठनकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, युके, द नेदर्ल्याण्डस्‌ र रुसमा धेरै सङ्क्रमित देखिएको र एक तिहाइले वृद्धि भएको बताएकी हुन् ।

"अहिलेको चिन्ता भनेको धेरै बिरामी मानिसहरूले अस्पतालका सघन उपचार कक्षहरू भरिन थालेका छन्," उनले सचेत गराइन् ।

रुसमा एकै दिनमा ३ सय २० जनाको मृत्यु भएर अहिलेसम्म कै सर्वाधिक सङ्ख्या बनेको छ । अहिलेसम्म त्यहाँ कोभिडका कारण २६ हजार ५ सय ८९ जनाको मृत्यु भइसकेको छ ।

इटलीमा प्रदर्शन
इटलीमा पनि मृत्यु हुनेको सङ्ख्या तीव्र रूपले बढेको छ । त्यहाँ विगत २४ घन्टामा मात्रै २ सय  २१ जनाले ज्यान गुमाएका छन् ।

मंगलवार अस्ट्रियामा १ हजारभन्दा बढी मानिसहरूले कोभिडका कारण ज्यान गुमाएका छन् ।

अमेरिका, भारत, ब्राजिलपछि कोभिड-१९ का धेरै सङ्क्रमित रुसमा रहेका छन् । मङ्गलवारमात्रै त्यहाँ १६ हजार ५ सय ५० नयाँ सङ्क्रमित देखिएपछि अधिकारीहरूले भिडभाड हुने सबै ठाउँहरूमा मास्क लगाउन अनिवार्य बनाएको छ । 

इटलीमा पनि विगत २४ घन्टामा थप करिब २२ हजार नयाँ सङ्क्रमित देखिएको छ । अधिकारीहरूले परीक्षणलाई बढाइएको बताएका छन् ।

सोमवार नयाँ प्रतिबन्धहरू घोषणा गरिएपछि इटलीभरका सहर र नगरहरूमा प्रदर्शनहरू भएका थिए ।

बेल्जियममा अस्पतालहरूमा सङ्क्रमित बिरामीको चाप बढेपछि त्यहाँ सङ्क्रमित चिकित्सकहरूलाई पनि काममा आउन भनिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले के भन्यो ?
बीबीसीको वर्ल्ड एट वान कार्यक्रममा मङ्गलवार बोल्दै प्रवक्ता ह्यारिसले भनिन्: "युरोपेली क्षेत्रभर हामीले नयाँ सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्यामा तीव्र रूपमा वृद्धि भएको देखिरहेका छौँ ।

उनले विगतको साताको तुलनामा दैनिक सङ्क्रमितको सङख्या एक तिहाइले र मृत्यु हुनेको सङख्या झण्डै ४० प्रतिशतले बढेको बताएकी छन् ।

"अस्पतालको क्षमता र व्यवस्थापनमा राम्रो सुधार गरिएको भए पनि, थुप्रै देशका अस्पतालहरू छिट्टै भरिँदै छन्," उनले भनिन् ।

थुप्रै युरोपेली देशहरूमा लगाइएका नयाँ प्रतिबन्धहरू कति प्रभावकारी भए भन्ने कुराको विश्लेषण दुई सातामा मात्रै गर्न सकिने उनले बताइन् ।

"हामीले सङ्क्रमितको सङख्या घट्दै गएको देख्छौँ तर त्यो रातारात देखिने कुरा होइन," सङ्गठनकी प्रवक्ताले भनिन् ।

दोस्रो लहर पहिलोभन्दा बढी खराब हुन्छ भन्ने प्रश्नको जवाफमा उनले भनिन्: "हामीले फरक खालको वृद्धि देख्नेका छौँ ।

"राम्रो खबर भनेको रोगको अवस्थाबारे हाम्रा अस्पतालहरू पहिलेभन्दा जानकार छन् र अर्को राम्रो कुरा भनेको धेरै बिरामी नहुने उमेर समूहमा सङ्क्रमण धेरै देखिएको छ । यी दुई कारणले एप्रिलमा देखिएजस्तो मृत्यु हुनेको सङ्ख्यामा धेरै खराब अवस्था नदेखिनसक्छ," डाक्टर ह्यारिसले भनिन् ।

यसबीच युकेको इम्पेरिअल कलेज लन्डनका अनुसन्धानकर्ताहरूले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसहरूमा जुन महिनादेखि सेप्टेम्बर महिनाको बीचमा करिब एक चौथाइले एन्डीबडी घटेको पाइएको बताए ।

कोरोनाभाइरस सङ्क्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटेको पाइएको उनीहरूले बताएका हुन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts