जोन्सन एन्ड जोन्सनले कोरोना भाइरसविरुद्धको खोप परीक्षण स्थगित
एजेन्सी, २७ असोज । औषधि निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनले कोरोना भाइरसविरुद्धको खोप परीक्षण तत्कालका लागि स्थगित गरेको छ। एक जना सहभागी बिरामी भएपछि तत्कालका लागि परीक्षण रोकिएको कम्पनीले सोमबार विज्ञप्ति जारी गरी जानकारी दिएको हो।
एक जना सहभागी बिरामी भएपछि अस्थायी रुपमा कोभिड–१९ खोपका सबै क्लिनिकल ट्रायल स्थगित गरेको कम्पनीले जनाएको छ। कम्पनीले करिब ६० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराउने बताएको थियो। सेप्टेम्बरको अन्तिम सातातिरबाट कम्पनीले तेस्रो चरणको परीक्षणका लागि सहभागी हुने व्यक्ति छनोट गरिरहेको थियो। अर्जेन्टिना, चिली, कोलम्बिया, मेक्सिको, पेरु, दक्षिण अफ्रिका, अमेरिकालगायतका मुलुकबाट परीक्षणमा सहभागी हुने व्यक्ति छनोट भइरहेको थियो ।
जोन्सन एन्ड जोन्सनले परीक्षणमा सहभागी व्यक्ति बिरामी भएकोबारे एउटा स्वतन्त्र कमिटीले समीक्षा गरिरहेको जनाएको छ। साथै कम्पनीका चिकित्सकले पनि त्यसको समीक्षा गरिरहेको बताएको छ।