रूसले बनायो कोरोनाको दोस्रो खोप, १५ अक्टुबरसम्म सार्वजनिक गरिने
एजेन्सी, १८ असोज । हालसम्म कुनैपनि खोप र औषधि पत्ता लाग्न नसकेको कोरोना भाइरस विरुद्धको खोप रूसले बनाएको दावी गरेको छ । यसैक्रममा रूसले अर्को कोरोना विरुद्धको खोप विकास गरेको पनि दावी गरेको छ ।
स्पुतनिक भी नामक पहिलो खोप विकास गरेको रूसले अब अर्को कोरोना भाइरस विरुद्धको खोप विकास गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । रूसले तयार पारेको अर्को खोपको नाम 'एपिभ्याककोरोना' राखिएको छ । क्लिनिकल परीक्षणमा यो खोप सफल भएको र १५ अक्टुबरसम्म खोपलाई सार्वजनिक गरिने बताइएको छ ।
एपिभ्याक कोरोना खोप साइबेरियाको भेक्टर स्टेटको भाइरोलोजी रिसर्च सेन्टरले विकास गरेको छ । रिसर्च सेन्टरका अनुसार प्रायोगिक खोप एपिभ्याक कोरोना आफ्नो प्रारम्भिक चरणको परीक्षणमा सफल भएको छ । भेक्टरको प्रेस विभागले इन्टरफेक्स समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार क्लिनिकल परीक्षणको पहिलो दुई चरणमा एपिभ्याक कोरोना खोप सुरक्षित र प्रभावकारी रहेको छ ।
एपिभ्याक खोपले मानव शरीरमा इम्यून रिस्पोन्समाथि राम्रो काम गर्छ र पोस्ट अप्रुभल क्लिनिकल परीक्षण पूरा भएपछि खोपको क्षमतामाथि अन्तिम निष्कर्ष निकाल्न सहज हुने भेक्टर विभागको भनाइ छ । रूसका स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले मन्त्रालयको तर्फबाट भेक्टरको यस खोपको तीन हप्तामा अनुमति दिइने बताए ।
भेक्टरले रजिस्ट्रेशनपछि साइबेरियामा ५ हजार स्वयंसेवीमाथि खोपको क्लिनिकल परीक्षण सुरु गरिनेछ । त्यस बाहेक एक छुट्टै क्लिनिकल परीक्षणको आयोजना गरिने छ, जसमा ६० भन्दा बढी उमेर समूहका १ सय ५० जना स्वयंसेवीलाई सहभागि गराइनेछ । त्यसपछि १८ देखि ६० वर्ष उमेर समूहबीचका ५ हजार स्वयंसेवीमा प्लेसबो कन्ट्रोल्ड परीक्षण पनि सुरु गरिनेछ ।
भेक्टरका अनुसार खोप बनाउने काम नोभेम्बरबाट सुरु गरिने र सुरुवाति क्रममा एपिभ्याककोरोनाको १० हजार डोज तयार गरिने छ ।
ग्यामेलिया इन्स्टीच्यूटका प्रमुख एलेक्जेन्डर गिन्ट्सबर्गले खोपको परीक्षणको नतिजालाई लिएर मानिसमा चासो बढेको र लामो समयदेखि यसको प्रतिक्षामा रहेको बताए । उनका अनुसार खोपको डोज लिने ४० हजार स्वयंसेवीलाई १ सय ८० दिन निगरानीमा राखिएको थियो । अब उनको ाटोलीले अन्तिम परिणामको मिलान गर्छ र फेरि त्यसलाई एक अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित गरिनेछ ।