स्वास्थ्य अवस्था बिग्रिएपछि अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना
एजेन्सी, १७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् ।
शुक्रवार कोरोना भाइरसको संक्रमण पुष्टि भएको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
उनलाई वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको ह्वाइट हाउसले सूचना जारी गरी जानकारी दिएको छ ।
शुक्रवार उनीसहित उनकी श्रीमति मेलानिया ट्रम्पमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
अमेरिकी राष्ट्रपति चुनावका लागि सक्रिय रहेका टर्म्पमा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा थिए । तर, स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल लगिएको हो ।
ट्रम्पलाई उनको विशेष हेलिकोप्टर मरिन–१ बाट मेडिकल सेन्टर लगिएको थियो ।
यसअघि ट्रम्पले एक ट्वीट गरी आफूलाई र आफ्नी पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । अस्पताल प्रस्थान गर्नुअघि ट्रम्पले आफूहरुको स्वास्थ्य लाभको कामना गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
राष्ट्रपति पदको चुनावका प्रतिस्पर्धी जो बाइडेन लगायतले ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।