रुसी कोरोना खोप 'स्पुतनिक भी': तेस्रो चरणको परीक्षणको नतिजा चाँडै सार्वजनिक गर्ने तयारी
एजेन्सी, १६ असोज । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसबाट जोगिनका लागि हालसम्म कुनैपनि ठोस औषधि र खोपको पत्ता लागेको छैन । यसबीचमा रुसले कोरोना विरुद्धको पहिलो खोपको विकास गरेको दावी गर्दै खोपको परीक्षणलाई तीव्रता दिँदै अघि बढेको छ ।
दोस्रो चरणको परीक्षण पश्चात नै रुसले कोरोना विरुद्धको खोपले राम्रो नतिजा दिएको र मानिसमा लगाउन तयार रहेको दावी गरेको थियो । कोरोना भाइरसको पहिलो खोप बनाएको दावी गरेपछि अब रूस परीक्षणको नतिजा जारी गर्नेमा पनि अग्र स्थानमा उक्लिँदैछ ।
पहिलो छ हफ्ताको आधारमा रुसले आफ्नो खोपको तेस्रो चरणको परीक्षणको शुरुवाती नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । स्पुतनिक भी नामक खोपको विकास रुसको ग्यामेलिया इन्स्टीच्यूटको प्रमुख एलेक्जेन्डर गिन्ट्सबर्गले बताएका छन् ।
समाचार संस्था रोयटर्सका अनुसार गिन्ट्सबर्गले कोरोना विरुद्धको खोपलाई लिएर देखिएको तीव्रता राम्रो रहेको र यसको सुरक्षामा कुनैपनि सम्झौता नगरिएको बताएका छन् । उनले भने, ‘कोरोना भाइरसका कारण मानिसहरु यसरी मरिरहेका छन् मानौं कुनै युद्ध चलिरहेको छ । खोपलाई लिएर तीव्रता देखाउनु आवश्यक छ । हामीलाई एक निश्चित डेडलाइनसम्म यो खोप बनाइसक्नु थियो । तर, खोपको परीक्षणमा आवश्यक सबै निर्देशिका र मापदण्ड पूरा गरिएको र सुरक्षाको पूर्ण ख्याल राखिएको छ ।’
हाल संसारका विभिन्न मुलुकमा गरि एक सय २० वटा कोरोना विरुद्धको खोपको परीक्षण जारी छ । जसमा रुसी खोप तेस्रो चरणको नतिजा सार्वजनिक गर्ने पहिलो मुलुक बन्ने दिशामा छ । रूसको खोपमा लगानी गरेको सवरेन वेल्थ फन्डले अक्टूबर वा नोभेम्बरसम्म खोपको नतिजा आइसक्ने आशा रहेको बताएको छ ।
गिन्ट्सबर्गले खोपको डोज लिने ४० हजार स्वयंसेवसीलाई १ सय ८० निगरानीमा राखिएको छ । अब उनको टिमले अन्तिम परिणामको नतिजा हेरेर अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित गरिने पनि बताए ।
रूसको खोपको पहिलो चरणको नतिजा सबैभन्दा पहिले द ल्यान्सेट नामक पत्रिकामा प्रकाशित गरिएको थियो । रुसको स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म लगभग ४ सय सर्व साधारण मानिसमा यो खोप लगाइएको छ । रोयटर्सका अनुसार तेस्रो चरणको परीक्षणको नतिजा आएपछि मात्रै निर्णय गरिने छ कि ६० वर्षभन्दा बढी उमेरका मानिसमा सामूहिक खोपको अभियानमा सहभागि गराउने वा नगराउने विषयमा ।
खोपको तेस्रो चरणको परीक्षणमा कुनै प्रकारको गम्भीर नकारात्मक नतिजा अहिलेसम्म नदेखिएको भन्दै गिन्ट्सबर्गले सार्वजनिक उपयोगका लागि खोपको रजिस्ट्रेशनको निर्णय नैतिक दृष्टिकोणले राम्रो भएको बताए ।
गिन्ट्सबर्गले रूसको लक्ष्य प्लेसबोको तुलनामा लगभग ७५ प्रतिशतभन्दा बढी प्रभावकारी खोप बनाउनु रहेको भन्दै ४० हजार स्वयंसेवीलाई सहभागि गराइएको स्पुतनिक भी खोपको परीक्षण प्रभावकारी रहेको उल्लेख गरे । उनले रुसमा पछिल्लो समय कोरोना संक्रमणको दर निकै कमजोर बनेको पनि बताए ।