अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ७० लाख नाघ्यो
एजेन्सी, ५ असोज । अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ७० लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ३२ हजार ५ सय नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको संख्या ७० लाख ८ सय ९६ पुगेको हो ।
पछिल्लो २४ घन्टामा २ सय ९१ जनाको ज्यान गएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या अमेरिकामा २ लाख ५ हजार १ सय १५ पुगेको छ ।
भारतमा भने गएको २४ घण्टामा ८७ हजार ३ सय ८२ जना सङ्क्रमित थपिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ८७ हजार ३ सय ८२ पुगेको छ । अहिलेसम्म विश्वभर ३ करोड १२ लाख १९ हजार कोरोना सङ्क्रमितमध्ये ९ लाख ६४ हजार ७ सय ३५ जनाको मृत्यु भएको छ । २ करोड २८ लाख १ हजार सङ्क्रमित उपचारपछि निको भएका वल्ड्रोमिटरले जनाएको छ ।
यस्तै पहिलो चरणको सङ्क्रमणलाई नियन्त्रणमा राख्न सफल जापानमा दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्न थालेको छ । जापानमा ७९ हजारभन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यहाँ कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सय २० पुगेको छ ।