अक्सफोर्डले विकास गरिरहेको कोरोना विरुद्धको खोपको परीक्षण पुनः सुरु हुने
बीबीसी, २८ भदौ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको परीक्षण पुनः सुचारु हुने भएको छ ।
एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रुपमा विकास गरिरहेको कोरोना भाइरस विरुद्धको खोपको परीक्षण स्थगित गरिएको थियो । तेस्रो चरणको परीक्षणमा सहभागि एक जनामा साइड इफेक्ट देखिएपछि तत्कालका लागि परीक्षण रोकिएपनि अब पुनः परीक्षण सुरु हुने जनाइएको छ ।
परीक्षण रोकेर एस्ट्राजेनेकाले बिरामीमा भएको साइड इफेक्टको बारेमा अध्ययन गरेको र त्यसमा खोप परीक्षण अन्तर्गत पर्ने नियमित प्रभाव देखिएको बताइएको छ । जसमा खोपको परीक्षण गर्दा स्वयंसेवीमा साइड इफेक्ट देखिनु स्वभाविक मानिएको थियो । त्यसपछि अक्सफोर्डले खोपको परीक्षणलाई पुनः सुचारु गर्ने बताएको छ ।
बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले पनि खोपको परीक्षण पुनः सुचारु हुने भन्दै यसलाई खोप परीक्षणको नियमित प्रक्रिया बताएका छन् ।
अक्सफोर्डले पनि बयान जारी गर्दै खोपको परीक्षणको क्रममा केही मानिसहरुमा यसको साइड इफेक्ट देखिन सक्ने भएकाले यो सामान्य अवस्था रहेको बताएको छ ।
स्वतन्त्र सुरक्षा समीक्षा समिति र बेलायती नियामक, मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीको सिफारिसपछि मात्रै परीक्षण सुरु गरिने विश्वविद्यालयको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना विरुद्धको झन्डै १ सय ८० खोपको परीक्षण भइरहेको छ । तर, कसैले पनि क्लिनिकल परीक्षण पूरा गरेको छैन ।
अक्सफोर्डको खोपले भने पहिलो र दोस्रो चरणको खोपको सफल परीक्षण पूरा गरिसकेको र तेस्रो चरणमा प्रवेश गरेको छ । साथै यो खोप विश्व बजारमा आउने पहिलो कोरोना विरुद्धको खोप बन्न सक्ने आशा पनि गरिएको छ ।
अक्सफोर्डको यस खोपको परीक्षणमा झन्डै ३० हजार मानिसहरु सहभागि भइरहेका छन् ।