अपडेट

भारतमा फेरि थपिए ९७ हजारभन्दा बढी संक्रमित, संख्या ४६ लाखभन्दा बढी

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

एजेन्सी, २७ भदौ । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको दरमा अझै कमी आउन सकेको छैन । डिसेम्बर ३१ सन् २०१९ देखि १२ सेप्टेम्बर २०२० सम्म विश्वभर कोरोना भाइरसका कारण दुई करोड ८६ लाख ९५ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । जबकी संक्रमित भएकामध्ये २ करोड ६ लाख ८ हजारभन्द्या बढी स्वस्थ समेत भइसकेक छन् । यस्तै हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ९ लाख २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना महामारीका कारण अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो भने संक्रमणको हिसाबले भारत दोस्रो प्रभावित मुलुक भएपनि ब्राजिलमा अमेरिकापछि सबैभन्दा धेरै मानिसहरुको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

पछिल्लो २४ घन्टामा विश्वका विभिन्न मुलुकमा भएका गतिविधि यस प्रकार छन् :

भारतमा कोरोना संक्रमितको संख्या ४६ लाख भन्दा धेरै
कोरोना भाइरस संक्रमणका कारण विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा थप ९७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९७ हजार ५ सय ७० जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४६ लाख ६३ हजार ९ सय नाघेको छ । यस्तै भारतमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७७ हजार ४ सय नाघेको छ ।

कोरोनाविरुद्धको खोप खरिदका लागि सम्झौदा गर्दै ताईवान
ताईवानले कोरोना भाइरस विरुद्धको खोप खरिदका लागि सम्झौता गर्ने भएको छ । बेलायती विश्वविद्यालय अक्सफोर्डले विकास गरिरहेको कोभ्याक्स नामक खोप खरिदका लागि ताईवानले सम्झौता गर्न लागेको हो । ताईपे सरकारले कोरोना विरुद्धको खोप विकास हुनासाथ आफ्नो मुलुकका लागि खरिद गर्न भन्दै विश्व स्वास्थ्य संगठन र गाभी भ्याक्सिन एलायन्ससँग पहल गर्न लागेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन् ।
 
संयुक्त अरब इमिरेट्समा एक हजारभन्दा बढी नयाँ संक्रमित थपिए
संयुक्त अरब इमिरेट्समा एक हजार ७ नयाँ संक्रमित थपिएका छन् । यो संख्या दुबईमा एकैदिन देखिएको हालसम्मकै धेरै संक्रमितको संख्या हो । योसँगै दुबईमा कोरोना संक्रमितको संख्या ९५ हजार पुगेको छ भने एक जनाको मृत्यु भएको र ५ सय २१ जना स्वस्थ भएका छन् । दुबईमा यसअघि मे महिनामा ९ सय ९४ जना संक्रमित एकैदिन थपिएका थिए ।

स्पेनकी १४ वर्षीया राजकुमारी क्वारेन्टाइनमा 
स्पेनकी राजकुमारीलाई क्वारेन्टाइनमा राखिएको छ । आफूसँगै पढ्ने विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि १४ वर्षीया राजकुमारीलाई क्वारेन्टाइनमा राखिएको हो । समाचार संस्था रोयटर्सका अनुसार स्पेनका राजा र रानीपनि क्वारेन्टाइनमा बसेर आफ्नो नियमित काम गरिहरेका छन् ।

अस्ट्रेलियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ सय नाघ्यो
अस्ट्रेलियामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ सय नाघेको छ । अस्ट्रेलियन सरकारका अनुसार हालसम्म कोरोना भाइरसका कारण मुलुकभर ८ सय ३ जनाको मृत्यु भइसकेको छ । यस्तै हालसम्म २६ हजार ६ सय ७ जना संक्रमित भएका छन् भने २३ हजार ३ सय २४ जना स्वस्थ भएका छन् । अस्ट्रेलियाको सबैभन्दा ठूलो राज्य भिक्टोरियामा पछिल्लो २४ घन्टामा ७ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । अस्ट्रेलियामा मृत्यु भएकामध्ये ९० प्रतिशत भिक्टोरियाकै रहेका छन् ।

क्यानेडामा ४ महिनापछि कोरोनाले मृत्यु हुने दर शून्यमा पुग्यो
क्यानेडामा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने दर ४ महिनापछि शून्यमा पुगेको छ । क्यानेडियन सरकारका अनुसार गत मार्च महिनापछि पहिलो पटक कोरोना भाइरसका कारण कसैको पनि मृत्यु भएको छैन । क्यानेडामा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ९ हजार एक सय ६३ जनाको मृत्यु भइसकेको छ । तर, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण त्यहाँ कसैको पनि मृत्यु नभएको अलजजिराले लेखेको छ । 

मेक्सिकोमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७० हजारभन्दा बढी
ल्याटिन अमेरिकन मुलुक मेक्सिकोमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ । मेक्सिकन सरकारका अनुसार हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या मुलुकभर ७० हजार १ सय ८३ पुगेको छ । यस्तै हालसम्म संक्रमित हुनेको संख्या ६ लाख ५८ हजारभन्दा बढी पुगिसकेको छ भने ४ लाख ४६ हजारभन्दा बढी संक्रमित स्वस्थ भइसकेका छन् ।

बेलायतमा दोब्बरको संख्यामा संक्रमित थपिँदै
युरोपीय मुलुक बेलायतमा कोरोना संक्रमितको संख्या दोब्बरले बढ्न थालेको छ । बेलायत सरकारका अनुसार पछिल्लो एक सातामा दुई गुणाले कोरोना संक्रमितको संख्या थपिएको छ । थपिएका संक्रमितहरु अधिकांश ६५ वर्ष उमेर समूहका रहेका छन् । अगस्ट २२ देखि सेप्टेम्र ७ सम्म झन्डै एक लाख ५० हजारमा संक्रमण देखिएको बेलायती एक अध्ययनले देखाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts