कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो, २ करोडभन्दा बढी स्वस्थ
एजेन्सी, २६ भदौ । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ ।
सन् २०१९ को डिसेम्बर ३१ मा सुरु भएको कोरोना संक्रमणका कारण गत ८ महिनामा मृत्यु हुनेको संख्या ९ लाख नाघेको हो ।
अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म विश्वभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख १३ हजार ९ सय नाघिसकेको छ ।
कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिकामा सबैभन्दा बढी मानिसहरु प्रभावित भएका छन् । अमेरिकामा मात्रै हालसम्म कोरोना संक्रमणका कारण ६५ लाख ८८ हजार भन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या १ लाख ९६ हजार नाघिसकेको छ ।
यस्तै संक्रमणका कारण विश्वकै दोस्रो प्रभवित मुलुक भारतमा हालसम्म ४५ लाख ५९ हजारभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् भने ७६ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुनेमा दोस्रो स्थानमा रहेको ब्राजिलमा हालसम्म ४२ लाख ३९ हजारभन्दा बढी संक्रमित भएका छन् भने १ लाख २९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
पछिल्लो समय अमेरिका, ब्राजिल लगायतका मुलुकमा संक्रमित र मृत्यु हुने दरमा कमी आएपनि अझै कोरोना महामारी नियन्त्रणमा भने आउन सकेको छैन । जसले गर्दा संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
यस्तै भारतमा दिनकै लाख मानिसहरु संक्रमित हुन थालेका छन् भने मृत्यु हुने दर अन्य मुलुकको तुलनामा कम रहेको छ ।
यसैगरी हालसम्म विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ करोड ८३ लाख नाघेको छ ।
अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म कोरोना भाइरसका कारण २ करोड ८३ लाख २३ हजारभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् ।
यस्तै हालसम्म विश्वभर कोरोना भाइरसका कारण संक्रमित भएका छन् ती मध्ये २ करोडभन्दा बढी स्वस्थ भइसकेका छन् । विश्वविद्यालयका अनुसार हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या २ करोड ३ लाख ३९ हजार नाघेको छ ।