कोरोना संक्रमणका कारण भारत बन्यो विश्वकै दोस्रो प्रभावित मुलुक
एजेन्सी, २२ भदौ । भारत विश्वकै दोस्रो सबैभन्दा बढी कोरोना संक्रमणका कारण प्रभावित मुलुक बनेको छ ।
समाचार संस्था रोयटर्सका अनुसार भारतले ब्राजिललाई संक्रमणको दरमा पछि पार्दै विश्वकै दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक बनेको हो ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ९० हजार ८ सय २ नयाँ संक्रमित फेला परेका छन् ।
भारतमा पछिल्लो डेढ महिनादेखि लगातार ५० हजारभन्दा बढीका दरले कोरोना संक्रमित फेला पर्न थालेका छन् । पछिल्लो दुई दिनदेखि भारतमा एकैदिन ९० हजार भन्दा बढीका दरे संक्रमित थपिन थालेको बताइएको छ ।
योसँगै भारतमा हालसम्म कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ४२ लाख ८ हजार ६ सय ४५ पुगेको छ । जबकी कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ६४ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने ब्राजिलमा संक्रमितको संख्या ४१ लाख नाघेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा भारतमा एक हजार जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७१ हजार १ सय नाघेको छ ।