'साबुनपानी उपलब्ध नभए मात्रै स्यानिटाइजरको प्रयोग गरौं'
बीबीसी, २० भदौ । विज्ञहरुले साबुनपानी उपलब्ध नभएको ठाउँमा मात्र स्यानिटाइजर प्रयोग गर्न आग्रह गरेका छन् ।
कोरोना भाइरसको रासायनिक तत्वलाई बिथोल्न मनतातो पानी र साबुन जति प्रभावकारी केही नभएको भन्दै विज्ञहरुले उपलब्ध र संभव भएसम्म साबुनपानीले २० सेकेण्ड हात धुनु नै बुद्धिमानी हुने बताएका हुन् ।
अमेरिकाको नर्थइस्टर्न युनिभर्सिटीका सह(प्राध्यापक थोमस गिलभर्टले कोरोना भाइरसको रासायनिक तत्व बिथोलेर निस्क्रिय बनाउनका लागि सबैभन्दा उत्तम वस्तु साबुनपानी नै भएको बताए।
तर पानी एक्लैले भने भाइरसलाई निस्क्रिय बनाउन नसक्ने भन्दै गिलभर्टले साबुनपानीले २० सेकेण्ड हात धुनु भाइरस निस्क्रिय पार्न पर्याप्त रहेको बताएको बीबीसीले जनाएको छ ।
स्यानिटाइजर साबुनपानी नभएको अवस्थाका लागि मात्र भएको र यसले कतिपयको छालामा समस्यासमेत ल्याउन सक्ने भन्दै विज्ञहरुले साबुनपानीलाई नै रोज्न आग्रह गरेका छन् ।
यस्तै पछिल्लो समयमा सजिलोका लागि ह्याण्डवासको प्रयोग गर्ने क्रम बढेको भन्दै विज्ञहरुले त्यस्ता एण्टिभाइरलले भविष्यमा अरु समस्या देखिने जोखिम रहेको बताएका छन् ।
हात धुनको लागि पिउनको जत्तिकै गुणस्तरको पानी नभए पनि हुने तर भाइरसलाई निस्तेज पार्न हात धुनु उत्तम हुने बेलायतको युनिभर्सिटी अफ केन्टकका प्राध्यापक मार्टिन मिकएलिसले बताए।
दिनमा कति पटक हात धुने भन्ने कुरा उसको काम तथा व्यवहारमा भर पर्ने उनीहरुको भनाइ छ । यदि घरमै बस्ने मानिस हो भने शौचालय गएपछि, खाना पकाउनु अघि वा खानु अघि मात्र हात धुँदा हुने तर घरबाहिर निस्किएको छ भने सकेसम्म हात नधोइ अनुहार छुन नहुने प्राध्यापक मिकएलिसले बताए ।