भारतमा कोरोना सङ्क्रमितको संख्या ४० लाख नाघ्यो
एजेन्सी, २० भदौ । भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४० लाख नाघेको छ । गएको २४ घण्टामै ८७ हजार एक सय १५ जना सङक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४० लाख २० हजार नाघेको हो ।
भारतमा कोरोना भाइरस सङ्क्रमणबाट ६९ हजार छ सय ३५ जनाको ज्यान गइसकेको छ भने ३१ लाख चार हजार भन्दा धेरै निको भएका छन् । अहिले भारतमा आठ लाख ४६ हजार भन्दा धेरै सक्रिय सङक्रमित रहेका छन् ।
एक अर्ब ३८ करोड २३ लाख भन्दा धेरै जनसंख्या रहेको भारतमा अहिलेसम्म चार करोड ६६ लाख ७९ हजार भन्दा धेरैको कोरोना परीक्षण भैसकेको भारतको स्वास्थ्य विभागले जनाएको छ ।
यसैबीच गएको २४ घण्टामा दुई लाख ८८ हजार भन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या दुइ करोड ६७ लाख ७१ हजार भन्दा धेरै भएको छ । आठ लाख ७८ हजार भन्दा बढीको ज्यान गैसकेको छ भने एक करोड ८८ लाख ७९ हजार भन्दा बढी निको भएका छन् ।
विश्वमा अहिले ७० लाख भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।