डब्लुएचओको नेतृत्वमा कोरोना विरुद्धको खोपको लागि हुने पहलमा अमेरिका सहभागि नहुने
बीबीसी, १७ भदौ । अमेरिकाले विश्व स्वास्थ्य संगठनको नेतृत्वमा हुने कोरोना भाइरस विरुद्धको खोपको लागि कुनै पहल नगर्ने भएको छ ।
कोरोना भाइर विरुद्धको खोप पत्ता लगाउतमा हुने कुनैपनि किसिमको अन्तर्राष्ट्रिय पहलमा अमेरिकाले सहभागिता नजनाउने बताएको छ ।
वाशिंगटन पोस्ट अनुसार सुरक्षित र प्रभावकारी खोपको अनुमति पाउन र त्यसको लाइसेन्स प्राप्त भइसकेपछि सबैको पहुँचमा खोपलाई न्यायसंगत रुपमा पुर्याउन सुनिश्चित गराउनका लागि विश्व स्वास्थ्य संगठनको नेतृत्वमा विश्वका १ सय ७२ देशको पहलमा अमेरिका सहभागि नहुने भएको हो ।
व्हाइट हाउसका प्रवक्ता जड डीरेले भने, 'अमेरिका कोरोना भाइरसको पराजय सुनिश्चित गराउनका लागि आफ्नो अन्तर्राष्ट्रीय सहयोगिहरुसँग मिलेर काम गरिरहने तर, भ्रष्ट विश्व स्वास्थ्य संगठन र चीनबाट प्रभावित मल्टीलेटरल संस्थाको दवावमा आउँदैन ।'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारीको विषयमा विश्व स्वास्थ्य संगठनमाथि पटक पटक आरोप लगाउँदै आएका छन् । उनले कोरोना भाइरस सुरु भएदेखि नै विश्व स्वास्थ्य संगठनमाथि आरोप लगाउँदै आएका छन् । उनले भने, 'संगठनले जसरी मापदण्डहरु जारी गरेको छ त्यसले प्रष्ट हुन्छ की संगठन चीनको पक्षमा रहेको छ ।'
कोरोना महामारीको विषयलाई लिएर असन्तुष्ट बनेको अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्दै संगठनबाट अलग्गिसकेको छ ।