भारतका पूर्व राष्ट्रपति मुखर्जीको अवस्था गम्भीर, गृहमन्त्री शाह डिस्चार्ज
भारत, १५ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
दिल्लीस्थित सैनिक अस्पतालमा भर्ना भएका उनको फोक्सोमा संक्रमणले गम्भीर असर पारेको र उनलाई सेप्टिक सक भएको बताइएको छ ।.
आर्मी रिसर्च एन्ड रेफरल हस्पिटलले जारी गरेको बयानमा मुखर्जीको स्वास्थ्य गम्भीर बन्दै गएको र फोक्सोमा संक्रमणका कारण सेप्टिक सक भएको उल्लेख गरिएको छ । उनको उपचारमा विशेषज्ञ चिकित्सकहरु खटिएको र उनी कोममा रहेका छन् । गम्भीर स्वास्थ्य अवस्थाका कारण उनलाई भेन्टिलेटरमा राखिएको छ ।
पूर्व राष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल भर्ना गरिएको थियो ।
यसैबीच, भारतीय गृह मन्त्री अमित शाह कोरोना संक्रमणमुक्त भएका छन् । राजधानी दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत गृहमन्त्री शाहले कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका हुन् ।
एम्सका अनुसार कोरोना संक्रमण पुष्टि भएका गृहमन्त्री शाहलाई सोमवार बिहान ८ बजे डिस्चार्ज गरिएको हो । उनी अब सवस्थ भएकाले आफ्ना नियमित गतिविधि गर्न सक्छन् ।
गृहमन्त्री शाहलाई यसै महिना कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी वेदान्ता हस्पिटलमा भर्ना भएका थिए । उनको पहिलो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको थियो । तर, थप सावधानीका लागि उनी एम्सको पोस्ट कोभिड केयरमा भर्ना भएका थिए ।
यसैबीच, भारतमा पछिल्लो २४ घन्टामा ७८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३६ लाख २४ हजार ६ सय १३ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा थप ९ सय ७१ जनाको मृत्यु भउको छ । योसँगे भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ हजार ४ सय ६९ पुगेको छ ।