कोरोना भाइरसलाई नष्ट गर्नमा ओजोन ग्यास प्रभावकारी हुने जापानी वैज्ञानिहरुको दावी
एजेन्सी, ११ भदौ । कोरोना भाइरसलाई नष्ट गर्नमा ओजोन ग्यास प्रभावकारी हुने जापानी वैज्ञानिहरुले दावी गरेका छन् । जापानका वैज्ञानिकहरुले ओजोनको मद्दतले कोरोना भाइरसलाई नष्ट गर्न सकिने र अस्पतालहरुलाई सुरक्षित बनाउन सकिन्छ । समाचार संस्था रोयटर्सका अनुसार जापानको फुजिता हेल्थ यूनिभर्सिटीले गरेको एक अध्ययनमा कम घनत्व भएको ओजोन ग्यास (०.०५ देखि ०.१ पीपीएम) ले कोरोना भाइरसलाई नष्ट गर्न सकिन्छ । अध्ययनकर्ताहरुले कम घनत्वयुक्त ओजोन मानिसका लागि पनि सुरक्षित रहेको दावी गरेको छ ।
१२ मिनेटमै कोरोना परीक्षण गर्न सकिने किट ल्याउँदै स्कटल्याण्ड
स्कटल्याण्ड स्वास्थ्य सेवा विभागले कोरोना परीक्षणको नतिजा अब १२ मिनेटमै आउने टेस्टिङ्ग किट बनाउन लागेको छ । स्कटल्याण्डको लुमिराडिएक्स नामक कम्पनीले कोरोना परीक्षणका लागि विशेष किसिमको टेस्टिङ्ग किट प्रयोगले कोरोना भाइरसको नतिजा ११ मिनेटमा पत्ता लाग्न सक्ने दावी गरेको छ । जसका लागि सरकारले ३ सय र्यापिड टेस्टिङ्ग मेसिन र पाँच लाख टेस्टमाथि ६७ लाख पाउण्ड खर्च गर्ने भएको छ । स्वास्थ्य उपकरण बनाउने कम्पनी लुमिराडिएक्सले सम्झौता गर्दै स्टरलिङ्गमा रहेको आफ्नो कारखानामा विशेष टेस्टिङ्ग स्ट्रिप बनाउनेछ । यो कोरोना टेस्टमा प्रयोग हुने मेसिनलाई सजिलै एक ठाउँबाट अर्को ठाउँ सार्न सकिन्छ र सानो क्लिनिक ताथ मोबाइल अस्पतालमा प्रयोग गर्न सकिन्छ ।
यूरोपिय मुलुकमा कोरोना संक्रमणको दोस्रो चरणको लहर
यूरोपीय मुलुकहरुमा कोरोना संक्रमणको दोस्रो चरणको लहर सुरु भएको छ । फ्रान्स, इटली, स्पेन लगायतका मुलुकमा कोरोना संक्रमणको दर फेरि बढ्न थालेको बीबीसीले जनाएको छ । जसलाई ध्यानमा राखी फ्रान्समा मास्क लगाउन अनिवार्य गरिएको छ भने इटलीले फेरी सामाजीक तथा भौतिक दुरी कायम गर्ने सम्बन्धी नियमलाई लागू गरेको छ ।
स्पेनमा कोरोना सङ्क्रमणको दोस्रो चरणको लहर सुरु भएको आशंका गरिएको छ । जसलाई ध्यानमा राखी स्पेन सरकारले दुई हजार सैनिकलाई परिचालन गर्ने तयारी गरेको छ । उनीहरुलाई विशेष तालिम दिने योजना पनि स्पेन सरकारले बनाएको छ । महामारी विरुद्धको लडाईंमा खटिने यी सैनिकले कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको खोजि गर्ने काम गर्नेछन् ।
अमेरिकामा कोरोना संक्रमणको दरमा कमी
कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोना संक्रमणको दरमा कमी आउन थालेको छ । अमेरिकाको पब्लिक हेल्थ एजेन्सी सीडीसीले कोरोना परीक्षणको जाँचलाई लिएर नयाँ नियम लागू गरेको छ । सीडीसीले कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुले मात्रै अब कोरोना परीक्षण गराउने बताएको छ । विज्ञहरुका अनुसार अमेरिकामा चुनावलाई लिएर कोरोना परीक्षणलाई घटाउँदा संक्रमणको दरमा कमी आएको हुन सक्छ । साथै पछिल्लो समय अमेरिकामा सबै नागरिकलाई मास्क लगाउन अनिवार्य गरिएपछि पनि कमी आएको हुन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।