हङकङमा एकै व्यक्तिमा दोस्रो पटक कोरोनाभाइरस संक्रमण
एजेन्सी, ९ भदौ । हङकङका वैज्ञानिकहरुले ३३ वर्षीय एक युवामा दोस्रो पटक कोरोनाभाइरसको संक्रमण देखिएको बताएका छन् ।
द यूयोर्क टाइम्सले आफ्नो अनलाइनको समाचार अनुसार ती व्यक्तिलाई झण्डै साढे चार महीनाअघि पहिलो पटक कोरोनाभाइरस संक्रमण पहिचान गरिएको थियो ।
“पहिलो पटक कोरोना संक्रमणबाट निको भएको साढे चार महीनापछि एक स्वस्थ्य युवालाई दोस्रो पटक संक्रमण पुष्टि भएको छ ”, हङकङ विश्वविद्यालयका एक अनुसन्धानकर्ताले भनेका छन् ।
उही व्यक्तिमा कोरोनाभाइरसको पुनःसंक्रमण भेटिएसँगै केही व्यक्तिहरुमा यो भाइरसविरुद्धको प्रतिरोधात्मक शक्ति केही महीनासम्म मात्रै रहने निष्कर्षमा अनुसन्धानकर्ताहरु पुगेका छन् ।
युवामा पहिलो पटक कोरोना भाइरस संक्रमणका क्रममा सामान्य लक्षण मात्र देखिएका थिए । पुनःसंक्रमणमा भने उनमा कुनै पनि लक्षण देखिएको छैन ।
चिकित्सकहरुको वक्तव्य अनुसार ति व्यक्ति पछिल्लोपटक उनी स्पेन भ्रमणबाट फर्किएका थिए । उनी भ्रमणकै क्रममा नयाँ कोरोनाभाइरसबाट संक्रमित भएको चिकित्सकको ठहर छ ।
“हाम्रो अनुसन्धान नतिजाले उनी नयाँ भाइरसका कारण दोस्रो पटक संक्रमित भएको प्रमाणित गरेको छ,” हङकङ विश्वविद्यालयका क्लिनिकल माइक्रोबायोलोजिष्ट डा। केल्भीन काइ–वाङ तोले भनेका छन् ।
विज्ञहरुले कोरोनाका कारण विश्वभर दुई करोड भन्दा बढी व्यक्ति संक्रमित भइरहेका बेला केही व्यक्तिमा पुनःसंक्रमण देखिनु अप्रत्याशित नभएको बताउँदै आएका छन् । तर, यसको कारण र भाइरसको प्रकृतिबारे पर्याप्त अध्ययन भने भएको थिएन ।
तर, हङकङका अनुसन्धानकर्ताहरुले दोस्रो पटकको संक्रमणको कारण र भाइरसको प्रकृतिबारे समेत गरेको यो पहिलो अनुसन्धान भएको बताइएको छ ।