अमेरिकामा पनि कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापीलाई अनुमति
बीबीसी, ८ भदौ । कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा प्लाज्मा थेरापीका लागि अनुमति दिइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा पत्रकारसँग कुराकानी गर्दै आपतकालिन स्थितिमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्लाज्मा थेरापी विधिलाई अनुमति दिइएको बताए ।
अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनले प्लाज्मा थेरापी विधिलाई अनुमति दिएको हो ।
राष्ट्रपति ट्रम्पले कोरोना संक्रमणपटि निको भइसकेका व्यक्तिलाई प्लाज्मा दान गर्नका लागि नाम दर्ता गराउन पनि आग्रह गरे ।
यस्तै उनले कोरोना भाइरस विरुद्धको खोपपनि चाँडै नै आउने विश्वास व्यक्त गरे । विश्वका विभिन्न मुलुकले कोरोना भाइरस विरुद्धको खोपको तेस्रो परीक्षण पूरा गरिसकेको र अन्तिम चरणको परीक्षणको क्रममा रहेकाले खोप चाँडै नै आउन सक्ने उनको भनाइ छ ।
अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण ५८ लाख ७२ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् भने १ लाख ८० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।