भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ३० लाख नाघ्यो
भारत, ७ भदौ । भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ३० लाख नाघेको छ ।
लगातार २५ औं दिन भारतमा ५० हजारभन्दा बढीको दरले कोरोना सङ्क्रमित थपिएका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ तथ्याङ्क अनुसार भारतमा पछिल्लो २४ घन्टामा ७० हजार ४ सय ८८ जना नयाँ सङ्क्रमित फेला परेका छन् ।
भारतमा एकैदिन थपिएको यो हालसम्मकै धेरै सङ्क्रमित संख्या हो । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ३० लाख ४३ हजार ४ सय ३६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा भारतमा थप ९ सय १८ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको र भारतमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ५६ हजार ८ सय ४६ पुगेको छ ।
कोरोना सङ्क्रमणका कारण विश्वकै तेस्रो प्रभावित मुलुक भारतमा हालसम्म २२ लाख ७९ हजार ९ सयभन्दा बढी स्वस्थ भइसकेका छन् ।