अस्ट्रेलियाले सम्भावित कोभिड–१९ खोपको लागि आस्ट्रजेनेकासँग सम्झौता गर्यो

एजेन्सी,३ भदौ । अस्ट्रेलियाले कोरोना भाइरसको सम्भावित खोपको लागि मङ्गलबार स्विडेन–बेलायती कम्पनी अस्ट्राजेनिकासँग सम्झौता गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलियाले अस्ट्राजेनेकासँग सम्झौता गरेको र अक्सफोर्डले बनाएको खोप अब आफ्नो देशले पनि पाउन सक्ने बताएकाछन् । उनले अब आफ्नो देशले पनि कोरोना भाइरसको खोप उत्पादन गर्ने र सबै नागरिकलाई सित्तैमा त्यो खोप दिने जानकारी गराए ।
उनले भने, 'अहिले अक्सफोर्डको खोप विश्वको सबैभन्दा उन्नत र विश्वसनीय खोप हो । कम्पनीसँगको सम्झौताअनुसार हामीले सबै नागरिकको लागि अब यो खोप सुनिश्चित गरेका छौँ ।'
यदि यो खोप सफल साबित भयो भने अस्ट्रलियाले ठूलो मात्रामा त्यसको उत्पादन गर्ने र सबै दुई करोड ५० लाख अस्ट्रेलियाली नागरिकसम्म सित्तैमा पुर्याइने उनले बताए ।
अक्सफोर्डमा बनिरहेको खोप विश्वको ती पाँच खोपमध्ये एक हो, जसको तेस्रो चरणको परीक्षण भइरहेको छ र शोधकर्ताहरुले पनि यो वर्षको अन्त्यसम्ममा यसको नतिजा पनि आउने विश्वास लिएका छन् ।
यद्यपि अहिलेसम्म एस्ट्राजेनिकसँग खोपको मूल्य कति हुन्छ र अस्ट्रेलियामा त्यसको उत्पादन कसले गर्छ भन्ने विषयमा सहमति भइसकेको छैन ।