दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या पाँच महिनायताकै धेरै

एजेन्सी,२ भदौ । दक्षिण कोरियामा एकै दिन कोरोना भाइरस सङ्क्रमण भएका २सय ७९ जना भेटिएकाछन् । यो पाँच महिनायताको सर्वाधिक सङ्ख्या हो।
तीमध्ये धेरै सङ्क्रमित साराङ जेइल गिर्जाघरसँग सम्बन्धित छन्। त्यहाँका पादरीलाई राष्ट्रपति मुन जे(इनका प्रखर आलोचक मानिन्छ।
यो वर्षको सुरुतिर शिन्जेओन्जी नामक अर्को गिर्जाघर कोरोनाभाइरसको सबैभन्दा ठूलो क्लस्टरका रूपमा देखा परेको थियो।
उक्त विवादास्पद समूहसँग ५,२०० संक्रमितको सम्बन्ध रहेको बताइन्छ ।
गत मार्च महिनापछि संक्रमितको संख्या २०० नाघेको यो पहिलो पटक हो ।
योसँगै दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १५ हजार ५१५ पुगेको छ। यता गिर्जाघरका प्रमुख धर्मगुरु जुन क्वाङ हूनलाई पक्राउ गरिनुपर्ने भन्दै दुई लाखभन्दा बढी मानिसले अनलाइन याचिकामा हस्ताक्षर गरेका छन् ।