रूसले उत्पादन गर्यो कोरोना विरुद्धको खोपको पहिलो व्याच

एजेन्सी, ३२ साउन । रूसले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको पहिलो व्याच उत्पादन गरेको छ ।
रूसी स्वास्थ्य मन्त्रालयका अनुसार विश्वकै पहिलो कोरोना भाइरस विरुद्धको खोपको पहिलो व्याच उत्पादन पूरा भएको हो । रूसले विकास गरेको खोपलाई लिएर सुरुदेखि नै विश्वका विभिन्न वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् ।
रूसले जुन गतिमा खोपको विकास गरेको छ र त्यसलाई अनुमति दिएको छ त्यसले कुनै गलत परिणाम नआओस भनेर वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् । तर, रूसले भने कोरोना विरुद्धको खोपलाई राष्ट्रीय गौरव र स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकतामा राखेको छ ।
विश्वका विभिन्न मुलुक कोरोना भाइरस विरुद्धको खोप बनाउने तयारीमा छ र रूसले सबैभन्दा पहिले कोरोना विरुद्धको खोप तयार गरेर मान्यता दिइसकेको घोषणा गरिसकेको छ ।
रूसले यसै महिनाको अन्त्यसम्म खोप बजारमा उपलब्ध भइसक्ने दावी गरेको छ । तेस्रो चरणको परीक्षण बिनै मान्यता दिइएको यस खोपको डोज प्रत्येक महिला ५० लाख उत्पादन गर्ने तयारी गरेको छ ।
गत मंगलवार मात्रै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप विकास गरिसकेको दावी गरेका थिए । रूसले विकास गरेको खोपको नाम स्पूतनिक भी राखिएको छ ।
यसैबीच, अस्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले कोरोना भाइरस विरुद्धको खोप आउने वर्षसम्म बनिसक्ने बताएका छन् । हन्टले सरकारले गर्न लागेको सम्झौताबाट अस्ट्रेलियामा नै कोरोना विरुद्धको खोप बन्ने बताए । तर, सम्झौताको विषयमा उनले केही खुलाएनन् ।
उनले खोपका लागि विभिन्न कम्पनीसँगको कुराकानी अन्तिम चरणमा रहेको पनि स्पष्ट पारे । कोरोना भाइरस विरुद्धको खोपको विकासका लागि भएको कुराकानीमा चेरै प्रगति भएको भन्दै हन्टले सन् २०२१ मा खोप बनिसक्ने दावी गरे ।