भारत विश्वकै तेस्रो धेरै कोरोना सङ्क्रमित भएको मुलुक

काठमाडौं, २२ असार । तीव्र गतिमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अब भारत विश्वकै तेस्रो धेरै सङ्क्रमित भएको मुलुक बनेको छ ।
भारतमा गत तीन दिनमा कीर्तिमानस्तरमा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार बढेको थियो ।
हाल सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा र त्यसपछि ब्राजिलमा पाइएको छ ।
कति सङ्ख्या?
भारतको स्वास्थ्य मन्त्रालयले दिएको आँकडा अनुसार त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या करिब ६ लाख ९० हजार पुगेको छ ।
आइतबारमात्रै भारतमा झन्डै २५ हजार नयाँ सङ्क्रमित थपिएका थिए । भारतभरिमा कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १९ हजार पुगेको छ ।
विज्ञहरूले भारतमा सङ्क्रमणको यथार्थ चित्र अझै थाहा नभएको बताएका छन् ।
अधिकारीहरूले सङ्क्रमण रोक्न विभिन्न प्रयत्न गरिरहेका छन्। दिल्लीमा ठूलो भाइरस स्याहार केन्द्र खोलिएको छ ।
देशभरिमा सबैभन्दा प्रभावित मध्येको दिल्लीमा १० हजार शैय्याको उक्त स्याहार केन्द्रमा सामान्य लक्षण देखिएका वा लक्षण नदेखिएका तर सङ्क्रमण पुष्टि भएकाहरूलाई उपचार गरिने छ ।
स्थानीय सञ्चार माध्यमहरूका अनुसार झन्डै बीसवटा फुटबल मैदानजत्रो उक्त केन्द्र विश्वकै सबभन्दा ठूलो कोरोनाभाइरस केन्द्र हो ।
भाइरस सङ्क्रमण फैलँदै गर्दा भारतको एक प्रमुख पर्यटन आकर्षण ताज महल आगन्तुकका निम्ति सोमबारदेखि खुला गर्ने योजना पनि अहिलेलाई स्थगित गरिएको छ ।
कहाँ कति?
भारतमा सबैभन्दा धेरै सङ्क्रमितहरूको सङ्ख्या पश्चिमी महाराष्ट्र राज्यमा पाइएको छ ।
त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या दुई लाख नाघेको छ ।
दक्षिणी तमिलनाडुमा तथा दिल्लीमा सङ्क्रमितको सङ्ख्या एक लाख हाराहारीमा छन् ।
धेरै जनसङ्ख्या भएको उत्तर प्रदेशमा २६ हजारभन्दा धेरै सङ्क्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयको आँकडाले देखाउँछ ।
बीबीसी नेपाली