भारतमा कोरोना संक्रमित साढे पाँच लाख नजिक

एजेन्सी, १५ असार । भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या साढे पाँच लाख नजिक पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा थप १९ हजार चार सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या पाँच लाख ४८ हजार भन्दा बढी पुगेको छ ।
कोरोनाका कारण मृत्यु हुनेका संख्या पनि भारतमा निरन्तर बढीरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै तीन सय ८० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ हजार चार सय ७५ पुगेको छ । भारत दक्षिण एसियामा सबैभन्दा बढी प्रभावित मुलुक हो । भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो । त्यसपछि क्रमशः राजधानी दिल्ली, तमिलनाडू, गुजरात, राजस्थान प्रभावित भएका छन् ।
कोरोना संक्रमणबाट बरिष्ठ चिकित्सकको मृत्यु
यसैबीच, भारतको राजधानी दिल्लीमा कोरोना संक्रमणका कारण एक वरिष्ठ डाक्टरको मृत्यु भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले एलएनजेपी अस्पतालका परिष्ठ डाक्टर असीम गुप्ताको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएका छन् । उनले कोरोना संक्रमितको उपचारमा खटिएका डा. गुप्ता आफै संक्रमित भएको भन्दै श्रद्धाजञ्ली व्यक्त गरेका छन् । यसअघि एम्स अस्पतालका एक जना वरिष्ठ बालरोग विषेशज्ञको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।