गण्डकीमा थपिए १० जना कोरोना संक्रमित, अर्मेनियाका प्रधानमन्त्रीमा पनि कोरोना
यस्ता छन् विश्वका केही गतिविधि
काठमाडौं, २० जेठ । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भै सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २२, २६, ३२ र ४० का ४ जना पुरुष र सोहि गाउँपालिका ठेगाना भइ सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका २० वर्षका १ जना पुरुष गरि थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
यसैगरी पर्वत जिल्ला, फलेबास नगरपालिका ठेगाना भइ कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहनुभएका वर्ष २० र ४० का २ जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष १९, २० र २१ का ३ जना पुरुषमा समेत गरि पर्वत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित सबैलाई सम्बन्धीत जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ भने नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ६६ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनले अस्थायी रुपमा प्रतिबन्ध लगाएको हाइड्रोक्सीक्लोरोक्वीन औषधिको विषयमा आज निर्णय गर्ने भएको छ । संगठनले हाइड्रोक्सीक्लोरोक्वीनको परीक्षण कोरोना संक्रमितको उपचारका लागि फाइदाजनक नभएको भन्दै प्रयोग नगर्न अस्थायी रुपमा प्रतिबन्ध लगाएको थियो । संगठनले औषधिमाथिको प्रतिबन्धलाई निरन्तरा दिने वा फुकुवा गर्ने विषयमा अन्तिम निर्णय गर्ने भएको हो । मलेरियाका बिरामीलाई दिइने यो औषधि कोरोना संक्रमित बिरामीका लागि फाइदाजनक नहुने भन्दै वैज्ञानिकहरुले सुझाव दिएका छन् ।
विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध तोडेको अमेरिकी घोषणापछि विश्व स्वास्थ्य संगठले प्रतिक्रिया दिएको छ । संगठनका प्रमुख डा. टेडरेस अधोनम घेबे्रयससले विश्व स्वास्थ्य संगठन अमेरिकासँग मिलेर काम गर्न चाहेको बताएको छन् । सोमवार संगठनको नियमित मिडिया ब्रिफिङको क्रममा डा.टेरड्रोसले अमेरिकाले विश्वकै स्वास्थ्य क्षेत्रमा ठूलो योगदान गरेकाले संगठन अमेरिकासँग आगामी दिनमापनि सँगै मिलेर काम गर्न चाहिरहेको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार विश्व स्वास्थ्य संगठनको लापरबाहीका कारण कोरोना भाइरसको महामारी फैलिएको भन्दै संगठनसँगको सबै किसिमको सम्बन्ध अन्त्य गरेको घोषणा गरेका थिए ।
यसैबीच, विश्व स्वास्थ्य संगठनले कोरोना महमारीसँग लड्नका लागि एन्टीबायोटिक्सको अत्यधिक प्रयोग खतरनाक हुन सक्ने बताएको छ । संगठनले एन्टीबायोटिक्सको अत्यधिक प्रयोगकले ब्याक्टेरियालाई झन बढी बलियो बनाइदिने हुनाले यसको प्रयोगबाट कोरोना संक्रमित भएका मानिसहरुको मृत्यु दर बढ्न सक्ने चेतावनी दिएको छ । सोमवार संगठनका निर्देशक टेड्रोस अधोनाम घेब्रेयससले जुन औषधिले ब्याक्टेरियायुक्त रोगको उपचार गरिन्छ त्यसप्रति ब्याक्टेरियाको प्रतिरोधात्मक शक्ति बढ्दै गएको बताए । कोरोना महामारीका कारण एन्टीबायोटिक्सको प्रयोग अत्याधिक हुने र यसको नतिजा विस्तारै झनु शक्तिशाली हुने गरेको भन्दै उनले यस अवस्थामा महामारीको क्रममा र आउने समयमा त्यस रोग अझ घातक हु सक्ने उनको भनाइ छ ।
यसैबीच, विश्व स्वास्थ्य संगठनले मध्य र दक्षिण अमेरिका कोरोना भाइरस महामारीको केन्द्र बन्दै गएको भन्दै चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका डा. माइक र्यानले मध्य र दक्षिण अमेरिकामा अहिले कोरोना भाइरसको संक्रमणको स्थिति गम्भीर बनेको बताए । म्याक्सिकोमा हालसम्म १० हजारभन्दा बढीको मृत्यु भइसकेको र लकडाउनमा छुट दिन थालिएकोले स्थिति झन् भयावह हुन सक्ने उनले चेतावनी दिएका छन् । कोरोना भाइरसका कारण विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक ब्राजिलको पनि विभिन्न सहरमा लकडाउन खुकुलो बनाउन थालिएको छ । जबकी ब्राजिलमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने दरपनि बढ्दै गएको छ ।
युरोपेली मुलुकहरूले कोरोना भाइरस महामारीबाट जोगिन मुलुकमा जारी गरेको बन्दाबन्दी आजबाट खुकुलो गर्ने तयारी गरेका छन् । युरोपका सबैजसो मुलुकले लकडाउन हटाउने वा खुकुलो पार्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । युरोपेली मुलुकहरूमध्ये केहीले लकडाउनको अन्त्य नै गर्ने तयारी गरेका छन् भने केहीले खुकुलो बनाएर लकडाउन जारी राख्ने निर्णय गरेका छन् ।
यता स्पेनमा भने मार्चपछि पहिलोपटक सोमवार कोरोना संक्रमितका कारण मृत्यु हुने दर शून्यमा आएको छ । पछिल्लो २४ घन्टामा स्पेनमा कोरोना भाइरसका कारण एक जनाको पनि मृत्यु नभएको स्पेन सरकारले जनाएको छ । इमर्जेन्सी हेल्थ रिस्पोन्स टीमका प्रमुख फर्नान्डो सिमोनले पछिल्लो ३ महिनामा स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुने दर शून्यमा झरेको बताए । उनले कोरोनाका कारण सुरुमा निकै प्रभावित बनेको स्पेनमा ३ महिनामा कोरोनाका कारण कसैको मृत्यु नभएको जुन राम्रो भएको बताए । स्पेन कोरोना भाइरसका कारण प्रभावित हुनेमा विश्कै छैठौं मुलुक हो । जहाँ २७ हजारभन्दा बढीको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ४० हजारभन्दा बढी संक्रमित भएका छन् ।
बेलायतको फेडेरल हेल्थ अथोरिटिजका अनुसार विश्वभर २६ हजार नर्सको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । विभिन्न स्याहार केन्द्रमा कोरोना उपचारका लागि खटिएका झन्डै २६ हजार नर्सको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको जनाइएको छ । यस्तै ६० हजार नर्सहरु कोरोना भाइरसका कारण संक्रमित भएका छन् ।
अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले सामाजीक सञ्जाल फेसबुकमार्फत् आफूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी गराए । आफूमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएपनि जाँच गराउँदा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रधानमन्त्री निकोलले बताए । अर्मेनियामा अहिलेसम्म कोरोना भाइरसका कारण ९ हजारभन्दा बढी संक्रमित भएका छन् भने १ सय ३१ जनाको मृत्यु भएको छ ।
इन्डोनेशियामा एक सय वर्षीया महिला कोरोना भाइरसको संक्रमणपछि पूर्ण स्वस्थ भएकी छिन् । स्थानीय सञ्चार माध्यमका अनुसार तीनलाई इन्डोनेशियाको ‘सबैभन्दा बढी उमेरको कोरोना संक्रमित बिरामी भनिएको छ । जसले कोरोना भाइरसलाई पराजीत गरेकी छिन् । कामतिम नामक यी वृद्धा इन्डोनेशियाको दोस्रो ठूलो सहरको सरकारी अस्पतालमा भर्ना भएकी थिइन् । करिब एक महिनासम्म चिकित्सकको निगरानीमा रहेकी ती महिला सोमवार अस्पतालबाट डिस्चार्ज भएकी हुन् । इन्डोनेशियामा हालसम्म कोरोना भाइरसका कारण २६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने १ हजार ५ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण हालसम्म विश्वर संक्रमित हुनेको संख्या ६३ लाख ६६ हजार नाघेको छ । अमेरिकी विश्व विद्यालय जन हपकिन्सका अनुसार हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये झन्डै ३ लाख ७७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने झन्डै २९ लाख ३ हजारभन्दा बढी संक्रमित स्वस्थ भएका छन् ।