भारतमा देखिएको कोरोना भाइरस वुहानको भन्दा फरकः वैज्ञानिक
यस्तो छ विश्वका केही गतिविधि
काठमाडौं, ९ जेठ । भारतीय वैज्ञानिकहरुले भारतमा देखिएको कोरोना भाइरस चीनको वुहानमा देखिएकोभन्दा फरक रहेको बताएका छन् ।
भारतको राजधानी दिल्लीमा रहेको जामिया हमदर्द विश्व विद्यालयका उपकुलपति डा. शइद हसनेनले भारतमा देखिएको कोरोना भाइरसको स्वरुप चीनको वुहानमा देखिएको भन्दा फरक रहेको बताएका छन् ।
बेलायतको बायोइन्सेप्सन ल्याबबाट मान्यता प्राप्त जामिया हमदर्द विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको अध्ययनमा भारतमा देखिएको कोरोना भाइरसको स्वरुपमा परिवर्तन आएको र प्रोटिनमा पनि परिवर्तन भएको पाइएको हो ।
डा.शइद भन्छन्, ‘भारतमा देखिएका कोरोना संक्रमितहरु सार्स सीओभी टू सँग मिल्दोजुल्दो छ । तर, यो विषयमा अझै प्रष्ट भने भइसकेको छैन । भारतमा देखिएका संक्रमितहरु चीन, स्पेन, इटली लगायतका मुलुकभन्दा फरक छ । जसको विषयमा हामी अध्ययन गरिरहेका छौं ।’
भारत दक्षिण एसियाली पहिलो मुलुक हो जहाँ कोरोना भाइरसका कारण सबैभन्दा धेरै मानिसहरु संक्रमित भएका छन् । हालसम्म भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक लाख १८ हजार नाघिसकेको छ भने ३५ सयभन्दा बढीको मृत्यु भएको छ ।
ल्याटिन अमेरिकन मुलुक ब्राजिलमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार ब्राजिलमा कोरोना भाइरसका कारण २० हजार ४७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ब्राजिलमा ११ सय ८८ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा ब्राजिलमा १८ हजार ५ सय ८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या ३ लाख १० हजार ८७ पुगेको छ । ब्राजिल विश्वकै तेस्रो कोरोना संक्रमित मुलुक बनेको छ । ब्राजिलमा लगातार कोरोना संक्रमितको संख्या बढ्दै गएपनि त्यहाँका राष्ट्रपति जायर बोलसोनारोले यो संख्या बढाएर देखाउन थालिएको बताएका छन् ।
पछिल्लो २४ घन्टामा विश्वभर झन्डै एक लाखभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा विश्वभर कोरोना भाइरसका कारण एक लाख ६ हजार नयाँ कोरोना संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
स्पेनमा गत दुई महिनामा पहिलो पटक कोरोना भाइरसका कारण निकै कम मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार बिहिवार स्पेनमा कोरोना भाइरसका कारण मात्र ४८ जनाको मृत्यु भएको छ । जुन पछिल्लो २ महिनायताकै कम हो । यसअघि मार्च १६ मा स्पेनमा कोरोनाका कारण ५० जनाको मृत्यु भएको थियो ।
बंगलादेशमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा बंगलादेशमा कोरोना भाइरसका कारण १७ सय ७३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै बंगलादेशमा कोरोना संक्रमितको संख्या २८ हजार ५ सय नाघेको छ । यस्तै बंगलादेशमा हालसम्म कोरोना भाइरसका कारण ४ सय ८ जनाको मृत्यु भएको छ ।
अफगानिस्तानमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उपचार गर्ने स्थानको अभाव हुन थालेको छ । अफगानिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा रहेका स्वास्थ्य संस्थामा कोरोना संक्रमितलाई राखेर उपचार गर्न आइसोलेसन वार्ड र बेडको अभाव हुन थालेको छ । अफगानिस्तानमा हालसम्म कोरोना भाइरसका कारण ८ हजार ६ सयभन्दा बढी संक्रमित भएका छन् भने एक सय ९३ जनाको मृत्यु भएको छ ।
इरानमा कोरोना भाइरसको उपचारमा खटिएका १० हजार स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । इरानी स्वास्थ्य मन्त्रालयका अनुसार इरानमा कोरोना भाइरस संक्रमितको उपचारमा अग्र स्थानमा रहेर काम गर्ने झन्डै १० हजार स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । मध्यपूर्वी एसियाली मुलुक इरानमा कोरोना भाइरसका कारण एक लाख २९ हजारभन्दा बढी संक्रमित भएका छन् भने झन्डै ८ हजारभन्दा बढीको मृत्यु भएको छ ।
विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ५१ लाख ९७ हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार नाघेको छ भने संक्रमित भएका मध्ये झन्डै २० लाख ८२ हजारभन्दा बढी स्वस्थ भएका छन् ।