ब्राजिल सरकारद्वारा कोरोना उपचारका लागि विवादित औषधि प्रयोग गर्न अनुमति

काठमाडौं, ८ जेठ । विश्वभर कोरोना भाइरसका कारण एकै दिन १ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यो हालसम्मकै उच्च कोरोना संक्रमितको संख्या रहेको अमेरिकी विश्वविद्यालय जन हपकिन्सले बताएको छ । योसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमितको संख्या ५० लाख नाघेको छ । यस्तै भाइरसका कारण हालसम्म विश्वभर ३ लाख २९ हजारको मृत्यु भएको छ भने संक्रमित भएका मध्ये झन्डै २० लाख २१ हजारभन्दा बढी स्वस्थ भएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस महामारीबाट विश्वलाई चाँडै छुट्कारा मिल्ने सम्भावना तत्काल नरहेको स्पष्ट पारेको छ । संगठनले पछिल्लो २४ घन्टामा विश्वभर नै १० लाख ६ हजार मानिसहरु कोरोनका कारण संक्रमित भएको जनाएको छ । संगठनका निर्देशक डा. टेड्रोस अधोनम घेब्रेयसुसले धनि राष्ट्रहरुले मुलुकमा लगाएका लकडाउन खोल्ने तयारीमा छन् भने गरिब मुलुकहरुमा तीव्र गतिमा कोरोना भाइरसको सक्रमण फैलिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
ब्राजिल सरकारले कोरोना भाइरसबाट लड्न दुई विवादिन औषधिको प्रयोगका लागि अनुमति दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मुलुकमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि एन्टी–मलेरिया औषधिको प्रयोग गर्न अनुमति दिएको हो ।
वैज्ञानिकहरुले हालसम्म क्लोरोक्वीन र हाइड्रोक्सिक्लोरोक्वीन कोभिड–१९ को उपचारमा प्रभावकारी छ भन्ने कुनै तथ्य फेला नपरेका कारण प्रयोग नगर्न भनिरहेको बेला ब्राजिलले तीनै विवादित औषधिको प्रयोगमा अनुमति दिएको छ । यसअघि ब्राजीलका राष्ट्रपति जेर बोलसोनारोले गत मार्चमा सामाजीक सञ्जालमा दावी गरेका थिए कि हाइड्रोक्सिक्लोरोक्वीन कोरोना भाइरसको उपचारमा उपयोगी हुन्छ । तर, फेसबुक र ट्विटरले फेक न्यूज फैलाउनले खालको पोस्टलाई डिलेट गरिदिएको थियो ।
सोमवार मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू कोरोना भाइरस विरुद्धबाट जोगिन हाइड्रोक्सिक्लोरोक्वीन सेवन गरिरहेको बताएका थिए । तर, अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले यो औषधि कोरोना विरुद्धको उपचारमा सुरक्षित र प्रभावकारी नभएको बताइसकेको छ । साथै यो औषधिको साइडइफेक्ट देखिएको र यसले मानिसको आँखा र मुटु सहित शरीरको अन्य अंगलाई पनि प्रभावित गर्ने गरेको पाइएको छ ।