भारतका स्वास्थ्यमन्त्री हर्षवर्धन विश्व स्वास्थ्य संगठनको कार्यकारी अध्यक्षमा चयन
एजेन्सी, ७ जेठ । भारतका केन्द्रीय स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धन विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डको अध्यक्षमा चयन भएका छन् । यसअघि यो पदमा जापानका डाक्टर हिरोकी नाकातानी थिए । यो बोर्ड ३४ सदस्यीय छ ।
डा. हर्षवर्धनलाई चयन गर्न विश्व स्वास्थ्य संगठनका कुल सदस्य मध्ये १९४ देशले स्वीकृति दिएका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार डा. हर्षवर्धनलाई आगामी २२ मेमा आधिकारिक रुपमा चयन गरिनेछ । क्षेत्रीय समूहमा रहेका देशहरुलाई यो पद रोटेसनका आधारमा हरेक एक एक वर्षका लागि दिइन्छ । संगठनको दक्षिण पूर्व एशिया समूहले भने यसअघि नै आगामी तीन वर्षका लागि भारतलाई यो पदमा सर्वसम्वत चयन गर्ने निर्णय गरेको भएको थियो ।
कार्यकारी बोर्डको प्रमुख काम विश्व स्वास्थ्य संगठनको सभाका लागि आवश्यक फैसला गर्नु वा आवश्यक नीति तयार गर्न उचित सल्लाह दिनु हुन्छ । यो बोर्डमा रहेका सबै सदस्य सम्बन्धित विषयका विज्ञ हुन्छन् । जसलाई १९४ देश सदस्य रहेको वल्र्ड हेल्थ एसेम्लीले तीन वर्षका लागि चयन गरेको हुन्छ । यस्तै भारतका स्वास्थ्य मन्त्री डा. हर्षवर्धनले पनि भारतमा कोभिड–१९ विरुद्धको लडाइमा निकै राम्रो भूमिका निभाइ रहेका छन् ।