अपडेट

ट्रम्पले भनेः कोरोना भाइरसबाट जोगिनका लागि हाइड्रोक्सिक्लोक्विन सेवन गर्दैछु

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, ६ जेठ । अमेरिकाले फेरि कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठनको कडा आलोचना गरेको छ । सोमवार भएको विश्व स्वास्थ्य सभामा अमेरिकाले कोरोना भाइरसको विषयलाई लिएर संगठनको कडा आलोचना गरेको हो । कोरोना भाइरससँग सम्बन्धीत तथ्यहरु फेला पार्नमा विश्व स्वास्थ्य संगठन असफल भएको अमेरिकाले आरोप लगायो । अमेरिकाले विश्व स्वास्थ्य संगठन चीनको कठपुतली बनेको र कोरोना भाइरसको विषयमा चीनसँच सूचना लिन नसकेका कारण यो महामारी बनेको पनि आरोप लगायो ।

तर, चीनियाँ राष्ट्रपति शी जिनफिंगले आफ्नो बचाव गर्दै चीन कोरोना भाइरस विरुद्ध पूरै  पारदर्शिता र जिम्मेवार भएर काम गरिरहेको बताए । संगठनको स्वास्थ्य सभामा कोरोना भाइरस कहाँबाट सुरु भयो र यसको जाँच गर्नुपर्ने उठेको मागलाई लिएर प्रस्ताव पेश गरिएको छ । ७३ औं सभामा भारतले जाँचको प्रस्ताव पेश गरेको थियो । जबकी चीनको बचाव गर्दै राष्ट्रपति शीले विश्व स्वास्थ्य संगठन र सम्बन्धीत देशलाई समयमा नै सबै जानकारी दिएको दावी गर्दै कोरोना भाइरसमाथि नियन्त्रण पाएपछि कुनैपनि जाँचको लागि सहमत रहेको बताए । सभामा प्रस्ताव प्रस्तुत गर्नेमा भारत बाहेक अस्ट्रेलिया, बंग्लादेश, भूटान, क्यानेडा, न्यूजिल्याण्ड, सउदी अरब, अफ्रीकी समूह र त्यसका सदस्य देश, यूरोपीय संघ र उसको सदस्य देशसमेत गरि १ सय भन्दा बढी देश रहेका छन् ।

विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९१ हजार ९ सय ८१ पुगेको छ । यस्तै संक्रमित हुनेको संख्या १५ लाख ५० हजार नाघेको छ । 

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि आफू हाइड्रोक्सिक्लोरोक्वीनको सेवन गरिरहेको बताएका छन् । आफैले मलेरियाका लागि प्रयोग गरिने यो औषधिको बारेमा पहिले उनले मजाक उडाएका थिए । तर, जब सबैतिर कोरोनाको उपचारमा यो औषधि प्रभावकारी हुन थाल्यो र केही वैज्ञानिकलाई प्रमाण पनि भेट्यो कि यो औषधि कोरोना भाइरसको उपचारमा प्रभावकारी बन्दै गएको छ अनि ट्रम्पले यसलाई कारगर भएको भन्दै सेवन गरिरहेको प्रतिक्रिया दिएका छन् । सोमवार पत्रकारसँगको कुराकानीमा यो औषधिको असरको विषयमा पत्रकारले सोधेको प्रश्नमा  ट्रम्पले, भने 'म करिब डेढ हप्तादेखि यो औषधि सेवन गर्दै आएको छु । तपाईं देख्न सक्नुहुन्छ की म स्वस्थ छु । मलाई यो विषयमा धेरै सकारात्मक अनुभुति भइरहेको छ ।'

दक्षिण सूडानका उपराष्ट्रपति रीक माशर र उनकी पत्नी एजेलिना टेनीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एजेलिना सुडानकी रक्षा मन्त्री समेत छिन् । उपराष्ट्रपति  माशर ६० वर्षका छन् । १३ मे मा गरिएको परीक्षणको क्रममा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । माशरका सुरक्षा गार्ड र केही स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । दक्षिण सूडानमा हालसम्म कोरोना भाइरसका कारण २ सय ३६ जना संक्रमित भएका छन् भने जम्मा ४ जनाको मृत्यु भएको छ ।
 
कतारमा दुई साताका लागि लकडाउन लगाइने निर्णय गरिएको छ । सरकारी समाचार एजेन्सी क्यूएनएका अनुसार कोरोना भाइरसको महामारीलाई ध्यानमा राखि कतार सरकारले मुलुकमा दुई साताका लागि लकडाउन लगाउने निर्णय गरेको हो । लकडाउन लागू भएपछि १९ मेदेखि ३० मेसम्म कतारका सबै खाद्यान्न र औषधि पसल बाहेकका सबै पसलहरु बन्द रहनेछ र व्यवसायिक प्रतिष्ठान पनि बन्द रहनेछ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार मात्रै १३ सय ६५ नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै कतारमा कोरोना संक्रमितको संख्या ३३ हजार ९ सय नाघेको छ भने १५ जनाको मात्रै मृत्यु भएको छ ।

सिरियामा मुश्लिम धर्माबलम्बीहरुको महान पर्व रमदानमा घर भित्रै नमाज पढ्न निर्देशन जारी गरेके छ । सिरिया सरकारका अनुसार मुश्लिम धर्माबलम्बीहरुको पवित्र मानिने रमदानको बेला ईद उल फित्रमा हुने प्रार्थनाको आयोजन सार्वजनिक रुपमा नगर्न भनिएको छ । यस वर्ष कोरोनाको महामारीलाई ध्यानमा राखि घरमै नमाज पढ्न र घरमै इद मनाउन भनिएको छ ।

अल साल्भाडोरमा कोरोना भाइरस फैलनबाट रोक्नका लागि देशमा आपतकालको घोषणा गर्ने राष्ट्रपतिको फैसलालाई सुप्रिम कोर्टले खारेज गरिदिएको छ । राष्ट्रपति नईब बुकेलेले कोरोनाको महामारीलाई ध्यानमा राखि आपतकाल लगाउने तयारी गरेका थिए र मुलुकको सुप्रीम कोर्टले उनको फेसलालाई गैर कानूनी भन्दै खारेज गरिदिएको छ । 

कोरोना महामारीका कारण सुरुमा सबैभनदा बढी प्रभावित बनेका इटली, स्पेन लगायतका मुलुकमा निरन्तर मृत्यु दर र संक्रमित हुनेको संख्यामा कमी आउँदै गएको छ । इटलीमा ९ मार्चपछि पहिलोपटक संक्रमितको संख्या एक सयभन्दा कम छ । सोमवार इटलीमा कोरोना भाइरसका कारण जम्मा ९९ छ । स्पेनमापनि वितेको महिनाभन्दा अहिले संक्रमित र मृत्यु हुने दरमा कमी आएको छ । पछिल्लो तथ्यांक अनुसार स्पेनमा एक दिनमा जम्मा ५९ जनाको मृत्यु भएको छ । 

इटलीमा हालसम्म कोरोना भाइरसका कारण ३२ हजारभन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या २ लाख २२ हजार नाघेको छ । यस्तै स्पेनमा कोरोनाका कारण २७ हजार ७ सयको मृत्यु भएको छ भने लाख ७८ हजार संक्रमित भएका छन् ।

अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण हालसम्म ४८ लाख ९१ हजारभन्दा बढी संक्रमित भएका छन् । यस्तै ३ लाख २० हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमित मध्ये १९ लाख ७ हजारभन्दा बढी स्वस्थ भएका छन् ।

Last modified on 2020-05-19 08:55:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts