कोरोना अपडेट

दक्षिण एसियाली मुलुक भारतले चीनलाई उछिन्यो, संक्रमितको संख्या ८५ हजार



Download our app to get more features

काठमाडौं, ३ जेठ ।नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान ११ः ३० मा सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कपिलवस्तको शिवराज नगरपालिका चन्द्रौटाका २५ , ३४ र ४४ वर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ७६ पुगेको छ । 

दक्षिण एसियाली मुलुक भारतले कारोना संक्रमित हुनेको संख्यामा चीनलाई उछिनेको छ ।  भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या चीनको भन्दा बढी पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ८५ हजार नाघेको छ । जबकी चीनमा कोरोना कारण ८२ हजार ९ सय ३३ जना मात्रै संक्रमित भएका थिए । तर, भारतमा चीनको तुलनामा कोरोनाका कारण मृत्यु हुनेको संख्या भने कम छ । भारतमा हालसम्म २७ सय ५२ जनाको मृत्यु भएको छ जबकी चीनमा ४ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ ।

ल्याटिन अमेरिकी मुलुक ब्राजिल पछिल्लो समय कोरोना भाइरसको केन्द्रबिन्दु बन्दै गएको छ । ब्राजिलमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या १० हजारका दरले बढ्न थालेको छ । ब्राजिलमा पछिल्लो २४ घन्टामा १५ हजार ८ सयभन्दा बढी नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजारभन्दा बढी नाघेको छ । यस्तै कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा ८ सय २४ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १४ हजार ८ सय नाघेको छ ।

यसैबीच ब्राजिलका स्वास्थ्य मन्त्री पदबाट राजीनामा दिएका छन् । कोरोना महामारीका बीच एक महिना नपुग्दै ब्राजिलका दोस्रो स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिएका हुन् । स्वास्थ्य मन्त्री नेल्सन टीशको कार्यालयले उनको राजीनामा बारे पुष्टि गरेका छन् । ब्राजिलमा कोरोना संक्रमणका कारण स्थिति बिग्रन थालेपछि राष्ट्रपति र स्वास्थ्यमन्त्रीबीच मतभेद उत्पन्न भएका कारण उनले राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यसअघि ब्राजिलमा कोरोना महामारीलाई नियन्त्रण गर्न नसकेको भन्दै अप्रिल १७ मा लुइज हेनरिकले पदबाट राजीनामा दिएका थिए ।

ताइवानलाई विश्व स्वास्थ्य संगठनको सदस्य बन्न नदिन चीनले दवाव दिन थालेको छ । ताइवानलाई विश्व स्वास्थ्य संगठनको सदस्य बन्न नदिन चीनले विभिन्न युरोपीय मुलुकलाई दवाव दिन थालेको हो । विश्व स्वास्थ्य संगठनको हेल्थ एसेम्बलीका लागि आउने साता बैठक हुन लागेको र बैठकमा ताइवानले संगठनमा आफ्नो प्रतिनिधित्वको माग गर्न चाहेको बुझिएको छ । जसको चीनले विरोध गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका अन्य देशसँगको सहयर्कामा कोरोना भाइरसको खोप विकासमा सक्रिय भएको बताएका छन् । शुक्रवार पत्रकारसँगको कुराकानीमा उनले अमेरिका अन्य मुलुकसँग सहकार्य गरेर कोरोना विरुद्धको खोप विकासका लागि तीव्र गतिमा काम गरिरहेको बताए । राष्ट्रपति ट्रम्पले यो वर्षको अन्त्य हुनु अगावै कोरोना भाइरस विरुद्धको खोप तयार भइसक्ने दावी गरे । विश्वकै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा जुन महिनासम्म एक लाख मानिसले कोरोना भाइरसका कारण ज्यान गुमाउने विज्ञहरुले चेतावनी दिएका छन् । अमेरिका कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित मुलुक हो जहाँ, हालसम्म ८८ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या १४ लाख ८४ हजार नाघेको छ । 

बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ । एक संक्रमित व्यक्तिबाट अर्को व्यक्तिलाई संक्रमित बनाउने दर जसलाई ‘आर भ्याल्यू’ को नामले चिनिन्छ, ० दशमवलव ७ को बीचमा छ । यो आर भ्याल्यूको एक अंकभन्दा कम हुनुको अर्थ हो की बेलायतमा फेरि कोरोना संक्रमितको दर तीव्रताले बढ्दैछ । बेलायत युरोपको पहिलो र समग्र विश्वको दोस्रो कोरोना प्रभावित मुलुक हो जहाँ सबैभन्दा बढी मानवीय क्षति भएको छ । हालसम्म बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३४ हजार नजिक पुगेको छ भने २ लाख ३६ हजारभन्दा बढी संक्रमित भएका छन् ।

यसैबीच, विश्व स्वास्थ्य संगठनले यूरोपमा जाडो याममा कोरोना भाइरसले एक पटक फेरि आक्रमण गर्न सक्ने भन्दै चेतावनी दिएको छ । डब्ल्यूएचओका यूरोपीय क्षेत्रका निर्देशक डाक्टर ह्यान्स क्लूजले लकडाउनमा छुट दिने मुलुकलाई चेतावनी दिँदै भने, “यो समय तयारीको हो, उत्सव मनाउनका लागि होइन ।” युरोपको सबै मुलुकमा यो साता कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ । कुनै समय कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको इटलीमा पछिल्लो २४ घन्टामा २ सय ६२ जनाको मात्रै मृत्यु भएको छ । यस्तै फ्रान्स, स्पेन र बेलायतमापनि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्यामा कमी आएको बीबीसले लेखेको छ । यस्तै डेनमार्कमा १३ मार्चपनि एउटा पनि नयाँ संक्रमित फेला परेका छैनन् भने स्लोभेनिया युरोपियन यूनियनको पहिलो मुलुक हो जहाँ कोरोना महामारी अन्त्य भएको घोषणा गरिएको छ ।
 
चुरोट बनाउने विश्वकै सबैभन्दा ठूलो एक कम्पनीले तमाखुको पातले बनेको खोप मानिसमा परीक्षण गर्न तयार भएको दावी गरेको छ । ब्रिटिश अमेरिकन टोबेको (बीएटी) का अनुसार तमाखुको पातले बनाइएको खोप कोरोना भाइरस विरुद्ध मानिसमा परीक्षण गर्न तयार गरिएको बताएको छ । कम्पनीले तमाखुको पातको  प्रोटिनको प्रयोग गरेर खोप तयार गरिएको आफ्नो बयानमा उल्लेख गरेको छ । प्री क्लिनिकल परीक्षणमा  यसको नतिजा राम्रो आएको पनि कम्पनीले दावी गरेको छ । कम्पनीका अनुसार अमेरिकी फूड एन्ड ड्रग एजेन्सीबाट अनुमति लिएर जुन महिनाको अन्त्यसम्म यसको परीक्षण मानिसमा सुरु गर्न सकिन्छ । कम्पनीले अप्रिल महिनामा नै आफ्नो योजनाको घोषणा गर्दै भनेको थियो, यदि सरकारको सहयोग प्राप्त भयो भने एक हप्तामा ३० लाख डोज उतपादन गर्न सकिन्छ । 

रूसमा कोरोना एन्टीबडीजका लागि मास स्क्रिनिंगको कार्यक्रम सुरु भएको छ । जसका लागि फरक फरक उमेर समूहका मानिसहरुलाई अस्पताल बोलाइएको छ । यो टेस्टको नतिजाले लकडाउन खोल्ने निर्णयलाई सहयोग गर्नेछ । मास्कोका करिब तीन दर्जन क्लिनिक यो टेस्टमाथि काम गरिरहेको छ । रूसमा पछिल्लो समय कोरोना भाइरसका कारण दिनकै १० देखि ११ हजारका दरले नयाँ संक्रमित फेला परिरहेका छन् । विश्वकै दोस्रो कोरोना संक्रमित प्रभावित बनेको रूसमा हालसम्म कोरोनाका कारण २ लाख ६२ हजारभन्दा बढी संक्रमित भएका छन् भने २४ सयभन्दा बढीको मृत्यु भएको छ ।

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ४५ लाख २५ हजार नाघेको छ भने ३ लाख ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यस्तै कोरोनाका कारण संक्रमित भएका मध्ये झन्डै १७ लाख ३ हजारभन्दा बढी स्वस्थ भएको अमेरिकी जन हपकिन्स विश्वविद्यालयले जनाएको छ ।

Last modified on 2020-05-16 13:33:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts