बंगलादेशको रोहिङ्ग्या शिविरमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि
यस्तो छ विश्वका केही गतिविधि
काठमाडौं, २ जेष्ठ । बंगलादेशको रोहिङ्ग्या शिविरमा पहिलो पटक कोरोना भाइरसको संक्रमण फेला परेको छ ।
बंगलादेशको दक्षिण क्षेत्रमा रहेको रोहिङ्ग्या शिविरमा बिहीवार पहिलोपटक दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बंगलादेश सरकार र संयुक्त राष्ट्र संघका प्रवक्ताले बताएका छन् । ती क्षेत्रमा लाखौंको संख्यामा रोहिङ्ग्याहरु बसोबास गर्दै आएका छन् । संक्रमित व्यक्तिको सम्पर्कमा आएका झन्डै १९ सय जनाको कोरोना परीक्षणको तयारी भइरहेको पनि उनले बताए ।
शिविर व्यवस्थापन र राहतको काम हेर्दै आएका प्रमुख महबुब आलम तलुकदरले कोरोना पुष्टि भएपछि उनीहरुलाई आइसोलेसन वार्डमा भर्ना गरिएको बताए ।
यसैबीच विश्व स्वास्थ्य संगठनले रोहिङ्ग्याहरु बसोबास गर्दै आएको क्षेत्रमा कोरोना देखिएपछि ठूलो क्षतिको चेतावनी दिएको छ । रोहिङ्ग्याहरु बसोबास गर्ने क्षेत्रमा यदि कोरोना भाइरस फैलियो भने त्यसलाई नियन्त्रण गर्न कठिन हुने भन्दै संगठनले बंगलादेश सरकारलाई सचेत गराएको छ ।
बंगलादेशमा हालसम्म कोरोना भाइरसका कारण १८ हजारभन्दा बढी संक्रमित भएका छन् २ सय ८३ जनाको मृत्यु भएको छ ।
चीनपछि सबैभन्दा बढी प्रभावित बनेको भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ८२ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घन्टामा ४ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित फेला परेका छन् भने १ सय भन्दा बढीको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २६ सयभन्दा बढीको मृत्यु भएको छ ।
कोरोना महामारीका कारण बेलायत युरोपको सबैभन्दा बढी मानवीय क्षति व्यहोर्ने मुलुक बनेको छ । राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) बेलायतका अनुसार बेलायतमा कोरोनाका कारण मृत्यु भएकामध्ये अधिकांश मधुमेहका बिरामी रहेका छन् ।
एनएचएसले सार्वजनिक गरेको एक तथ्यांकका अनुसार बेलायतको अस्पतालहरुमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरु मध्ये एक चौथाई बिरामी मधुमेह रोगबाट पीडित थिए । एचएचएसले पहिलो पटक अस्पतालमा मृत्यु भएका बिरामीको बारेमा आधिकारिक तथ्यांक सार्वजनिक गरेको हो । जसमा ३१ मार्चसम्म अस्पतालमा मृत्यु भएका कोरोना बिरामीको बारेमा जानकारी दिइएको छ ।
एनएचएसका अनुसार ३१ मार्चसम्म बेलायका विभिन्न अस्पतालमा २२ हजार ३ सय ३२ जनाको मृत्यु कोरोना भाइरसका कारण भएको थियो । जसको झन्डै २६ प्रतिशत मानिस मधुमेहबाट पीडित थिए भने १८ प्रतिशत नागरिकमा डिमेन्सियाको समस्या थियो । यस्तै १५ प्रतिशत मानिसमा फोक्सोसँग सम्बन्धीत समस्याबाट पीडित थिए ।
युरोपीय मुलुकहरुमा कोरोना भाइरसको महामारीपछि नयाँ रोगले आक्रमण गर्ने भन्दै त्यसका अधिकारीहरुले चेतावनी दिएका छन् । युरोपीय मुलुक इटलीको उत्तरी क्षेत्रा कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । अब त्यो क्षेत्र र फ्रान्समा इन्फÞ्लेमेटरी सिन्ड्रोमको संक्रमण देखिन थालेको छ ।
यो रोग विशेषगरि बालबालिकामा देखा पर्ने गर्छ । लन्सेटको एक प्रतिवेदनका अनुसार यसअघि यो रोग अमेरिकामापनि देखिएको थियो । अब बेलायत र स्पेनमापनि यो रोग देखिन थालेको छ ।
यो रोगमा ज्वरो आउने, शरीरमा एलर्जी हुने, ग्रन्थीहरु सुन्निने र अवस्था गम्भीर भएमा मुटु पनि सुन्निने हुन सक्छ ।
विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस कोभिड–१९ का कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ ।
अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म कोरोना भाइरसको महामारीका कारण विश्वभर झन्डै ३ लाख ३ हजार ३ सय ५१ जनाको मृत्यु भइसकेको छ ।
विश्वविद्यालयको तथ्यांक अनुसार कोरोना भाइरसको महामारीका कारण संक्रमित हुनेको संख्या ४५ लाख २५ हजार १ सय ३ पुगेको छ । यस्तै संक्रमित भएकामध्ये झन्डै १७ लाख ३ हजार ७ सय ४२ जना स्वस्थ भएका छन् ।
सन् २०१९ को डिसेम्बर ३१ मा पहिलो पटक चीनको वुहान शहरमा देखिएको कोरोना भाइरसका कारण विश्वका सबै मुलुक प्रभावित बनेको छ । त्यसमा पनि युरोप महादेशका सबै मुलुक कोरोनाको उच्च जोखिममा छ भने अमेरिका विश्कै सबैभन्दा धेरै प्रभावित मुलुक बनेको छ ।
जन हपकिन्स विश्वविद्यालयको ड्यासबोर्डका अनुसार विश्वका सबैभन्दा बढी यी पाँच मुलुक छन् । जहाँ कोरोना भाइरसले सबैभन्दा बढी मानिसको ज्यान लिएको छ भने आफ्नो संक्रमणको चपेटमापनि पारेको छ ।
अमरीकाः १४ लाख ५० हजारभन्दा बढी संक्रमित, ८६ हजार ५ सय भन्दा बढीको मृत्यु
बेलायतः २ लाख ३३ हजारभन्दा बढी संक्रमित, ३३ हजार ६ सयभन्दा बढीको मृत्यु
इटलीः २ लाख २३ हजारभन्दा बढी संक्रमित, ३१ हजार ३ सयभन्दा बढीको मृत्यु
फ्रान्संः एक लाख ७९ हजÞारभन्दा संक्रमित, २७ हजार ४ सयभन्दा बढीको मृत्यु
स्पेनः २ लाख ३० हजÞारभन्दा बढी संक्रमित, २७ हजार ३ सयभन्दा बढीको मृत्यु