एयर इण्डियाका पाँच पाइलटमा देखियो कोरोना, तर कसैमा पनि छैन लक्षण
एजेन्सी, २८ वैशाख । भारतीय विमान कम्पनी एयर इण्डियामा कार्यरत पाँच पाइलटमा कोरोना संक्रमण पुष्टि भएको छ । काममा जानु भन्दा ७२ घण्टा अघि गरिएको परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
मुम्बइमा बस्दै आएका यी सबै पाइलटमा कोरोनाको कुनै पनि लक्षण भने देखिएको थिएन । कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएकोे छ । उनीहरुले यसअघि चीन र अमेरिकाको लागि कार्गो फ्लाइट गर्दै आएको एयर इण्डिया स्रोतले जनाएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा मात्रै ३२ सय ७७ कोरोना संक्रमित बढेका छन् भने एक सय २७ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयद्वारा आइतबार जारी तथ्यांक अनुसार भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६२ हजार ९ सय ३९ पुगेको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट २१ सय ९ जनाको ज्यान गइसकेको छ ।