इटालीमा घटे कोरोना संक्रमित, अस्पतालमा १५ हजार मात्रै संक्रमित

एजेन्सी, २७ वैशाख । केही दिनयता इटालीमा कोरोना संक्रमणको दर घट्दै गइरहेको छ । यहाँको नागरिक रक्षा विभागका अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको र केही दिनयता संक्रमण दर कम हुँदै गएको छ । इटालीमा हालसम्म दुई लाख १७ हजार एक सय ८५ जना कोरोनाबाट संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ३० हजार दुई सय एक छ । यस्तै ९९ हजार २३ जना उपचारपछि घर गइसकेको जनाइएको छ । हाल १४ हजार ६ सय ३६ जना मात्रै अस्पताल भर्ना भएका छन् । यो संख्या गएको २४ घन्टामा पाँच सयले घटेको हो ।
यस्तै, आइसियूमा रहेका संक्रमितको संख्या पनि २४ घन्टायता एक सय ४३ ले कम हुँदै एक हजार एक सय ६८ मा झरेको छ । अर्थात् संक्रमितमध्ये एक हजार एक सय ६८ को अवस्था मात्रै गम्भीर रहेको छ । यस बाहेक ७२ हजार एक सय सात संक्रमित घरमै सेल्फ आइसोलेसनमा छन् । उनीहरूको अवस्था सामान्य एवं सुधारोन्मुख रहेको जनाइएको छ ।
इटालीको राष्ट्रिय स्वास्थ्य संस्थानका अध्यक्ष सिल्भियो ब्रुसाफेरोका अनुसार इटालीका २० वटै राज्यमा नयाँ संक्रमितको संख्या घट्दै गइरहेको छन् । उनले संक्रमितमध्ये ज्यान गुमाएका करिब १२ प्रतिशतको स्वास्थ्य अवस्था पहिलादेखि नै असामान्य रहेको बताएका छन् ।