कोरोना उपचारका लागि रेमडिसिभर औषधि प्रयोगमा जापानले दियो अनुमति

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, २७ वैशाख । संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको चुनावमा अमेरिकाले रोक लगाएको छ । कोरोना महामारीका कारण अमेरिकाले संघको सुरक्षा परिषदका लागि हुने मतदानमा तत्कालका लागि रोक लगाएको हो । अमेरिकाले महामरी सकिएपछि मात्रै चुनाव गर्न भनेको छ ।


अफगानिस्तानका स्वास्थ्यमन्त्रीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहीदुल्लाह मायरका अनुसार अफगानिस्तानका स्वास्थ्यमन्त्री फिरोजुद्दीन फिरोजमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मायरले कोरोना पुष्टि भएपछि स्वास्थ्यमन्त्री अस्पताल भर्ना भएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् । अफगानिस्तानमा हालसम्म कोरोनाका कारण ४ हजारको हाराहारीमा मानिसहरु संक्रमित भएका छन् भने १ सय ९ जनाको मृत्यु भएको छ ।


कोरोना भाइरसकै संक्रमणका कारण ग्रिकका पूर्व स्वास्थ्यमन्त्रीको मृत्यु भएको छ । ७८ वर्षीय पूर्व स्वास्थ्य मन्त्री दिमित्री क्रेमास्टिनोसको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । उनी ग्रिकको कार्डियोलोजीस्क एण्ड युभिर्सिटिका प्राध्यापक समेत थिए । मार्च २६ मा कोरोना पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।


यस्तै जापानका पूर्व कुटनितिज्ञको पनि कोरोना भाइरसका कारण मृत्यु भएको छ । प्रधानमन्त्रीका पूर्व सल्लाहकार युकियो ओकामोटोको कोरोनाका कारण मृत्यु भएको जापान सरकारले जनाएको छ । जापानमा हालसम्म कोरोनाका कारण १५ हजारभन्दा बढीको मृत्यु भएको छ भने ६ सय ६ जनाको मृत्यु भइसकेको छ ।


यसैबीच जापान सरकारले कोरोना विरुद्धको लडाईंमा अमेरिकासँग सहकार्य गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिञ्जो आवेले कोरोना विरुद्धको लडाईंमा सहकार्य गर्ने सहमति जनाएका हुन् ।

यस्तै जापान सरकारले कोरोना भाइरसको उपचारका लागि रेमडिसिभर औषधिलाई प्रयोग गर्न स्विकृति दिएको छ । जापानले फास्ट ट्र्याकबाट निर्णय गर्दै रेमडिसिभरलाई कोरोना भाइरसको उपचारका लागि अनुमति दिएको हो । यसअघि अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले रेमडिसिभरलाई कोरोनाको उपचारका लागि अनुमति दिएको थियो । 


युरोपियन युनियनले विश्वका विभिन्न देशलाई स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । युरोपिय युनियनले विश्वका २७ मुलुकका स्वास्थ्यकर्मीकालागि १० लाख मिलियन मास्क उपलब्ध गराउने भएको हो । 


कुवेतमा २० दिनका लागि लकडाउनको घोषणा गरिएको हो । कोरोना भाइरस संक्रमणको प्रसार रोक्नका लागि कुवेतमा पहिलेपटक देशव्यापी लकडाउन गर्ने घोषणा गर्न लागेको हो ।
भोलीदेखि लकडाउन सुरु हुनेछ । समाचार संस्था एएनआईका अनुसार कुवेतमा कोरोनका कारण संक्रमित हुनेको दर बढ्दै गएपछि त्यहाँ लकडाउन लगाउने भएको हो । कुवेतमा शुक्रवार मात्रै ६ सय ४१ जना नयाँ संक्रमित फेला परेका छन् । हालसम्म कोरोनाका कारण ४७ जनाको मृत्यु भइसकेको छ ।

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसकाबीच विश्वका विभिन्न मुलुकले लकडाउनलाई खुकुलो बनाएका छन् । विशेषगरि मुस्लिम देशहरुमा कोरोना भाइरस संक्रमणको प्रसार रोक्नका लागि बन्द गरिएको मस्जिद रमजान पर्वलाई ध्यानमा राखि खोलिएका हुन् । कोराना महामारीकाबीच बंगलादेश सरकारले बन्दाबन्दीमा लगाइएको प्रतिबन्धलाई खुकुलो बनाउँदै देशका सबै मस्जिदहरु खोलेको छ । यस्तै सीरिया सरकारले पनि केही मस्जिदहरु खोल्ने निर्णय गरेको छ । भौतिक दूरी कायम गर्दै अनिवार्य मास्कको प्रयोग गरेर मात्रै मस्जिदमा प्रवेश गर्ने नियमसहित सिरियाका मस्जिद खोलिने निर्णय गरेको हो । पाकिस्तान सरकारलेपनि आजदेखि मुलुकमा जारी लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । साथै देशका सबै मस्जिद रमजानमा खुला रहने यसअघि नै पाकिस्तान सरकारले गरिसकेको छ । ईरानमा १ सय ८० शहरमापनि मस्जिदहरु खोलिएको छ भने इन्डोनेशिया, सउदी अरब लगायतका मुलुकमापनि रमजानको अवसरमा मस्जिदहरु खोल्ने निर्णय गरिएको छ ।

कोरोना भाइरसका कारण क्यानेडामा मृत्यु भएकाहरुमध्ये ८२ प्रतिशत अधिकांश स्याहार केन्द्रका रहेको पाइएको छ । क्यानेडा सरकारले जारी गरेको एक प्रतिवेदनमा कोरोना भाइरसका कारण हालसम्म क्यानेडामा ४ हजारभन्दा बढीको मृत्यु भएको छ । जसमा ८२ प्रतिशत मृत्यु ६० उमेर कटेको र स्याहार केन्द्रका रहेका छन् । यसअघि बेलायतमापनि कोरोनाका कारण मृत्यु भएकाहरुमध्ये अधिकांश स्याहार केन्द्रका रहेको भन्दै चिन्ता व्यक्त गरेको थियो । 

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस कोविड–१९ का कारण विश्वभर संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म कोरोनाका कारण २ लाख ७५ हजारभन्दा बढीको मृत्यु भएको छ भने संक्रमित मध्ये १३ लाख ७७ हजारभन्दा बढी स्वस्थ भएका छन् ।

ला लिगाका पाँच जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । लिगा सुचारु गर्नु अगाडि खेलागीको कोरोना परीक्षण गर्दा पाँच जनामा संक्रमण देखिएको हो । ला लिगाको शिर्ष डिभिजन खेल्ने तीन जना र दोस्रो डिभिजनका दुई जनामा संक्रमण पुष्टि भएको उनीहरु कुन क्लवका खेलाडी हुन् भन्ने विषय खुलाइएको छैन । खेलाडीमा संक्रमण देखिएपछि २० जुनबाट सुरु गर्ने भनिएको खेल तत्कालै सुरु हुने सम्भावना कम भएको छ ।

Last modified on 2020-05-10 14:47:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts