युरोपमा कोभिड–१९ का कारण मृत्यु हुने दरमा कमी, बेलायतमा लकडाउन खुकुलो बनाइने
काठमाडौं, २६ वैशाख । विश्व स्वास्थ्य संगठनले अफ्रिकामा कोरोना महामारीलाई लिएर सावधानी नअपनाए एक वर्षमा १ लाखभन्दा बढी मानिसको मृत्यु हुने चेतावनी दिएको छ । संगठनले गरेको एक अध्ययनमा कोभिड–१९ महामारीको रोकथाममा ध्यान नदिँदा पहिलो वर्षमा अफ्रिकाका झन्डै ४७ मुलुकमा गरि एक लाख ९० हजारको मृत्यु हुन सक्ने र ४ लाख ७ हजारभन्दा बढी संक्रमित हुन सक्ने चेतावनी दिएको हो ।
भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ५० हजार नाघेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोनाका कारण ५२ हजार ९ सय ५२ जना संक्रमित भएका छन् । जबकी १५ हजारभन्दा बढी स्वस्थ भएका छन् । यस्तै कोरोनाका कारण १७ सय ८३ जनाको मृत्यु भइसकेको छ ।
बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । बेलायतका विदेशमन्त्री डोमिनिक रबले नियमित जानकारी दिने क्रममा बेलायतमा हालसम्म कोरोना भाइरसका कारण ३० हजार ६ सय ८५ जनाको मृत्यु भएको बताए । यस्तै संक्रमितको संख्या २ लाख ७ हजारभन्दा बढी रहेको छ । यसैबीच बेलायतमा महामारीकाबीच प्रधानमन्त्री बोरिस जोनसोनले आउने साता लकडाउन खुकुलो बनाउने तयारी गरेका छन् । आउने आइतवार बेलायतमा लकडाउनलाई खुकुलो बनाउने प्रधानमन्त्री जोनसोनले घोषणा गर्ने छन् ।
बेलायत सरकारले सार्वजनिक गरेको एक तथ्यांक अनुसार कोभिड–१९ का कारण स्वेत मानिसभन्दा कालो मानिसको बढी मृत्यु भएको छ । कोरोना भाइरसका कारण अश्वेत पुरुष र महिला श्वेत मानिसको तुलनामा दुई गुणा बढीको मृत्यु भएको जनाइएको छ । सरकारी तथ्यांक अनुसार बेलायत र र वेल्समा मृत्यु हुनेमा श्वेत मानिसको तुलनामा अश्वेतको बढी मृत्यु भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा कोरोना भाइरसको परीक्षणलाई थप बढाइने बताएका छन् । राष्ट्रपति ट्रम्पको निकट सम्पर्कमा काम गर्ने एक जना सहायक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यो निर्णय गरिएको हो । पत्रकारसँगको नियमित कुराकानीको क्रममा ट्रम्पले अहिलेसम्म हप्तामा एक पटक हुँदै आएको जाँच अब दैनिक रुपले गरिने बताए ।
महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७६ हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म कोरोनाका कारण ७६ हजार ५ सय ३ पुगेको छ भने संक्रमितको संख्या १२ लाख ९० हजार नाघेको छ ।
क्यानेडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले कोरोना विरुद्धको लडाईंका लागि तीन बिलियन डलर रकम बराबरको कोषको घोषणा गरेका छन् । यो रकम कोरोना विरुद्ध अग्रस्थानमा रहेर काम गरिरहेकाहरुको तलव र सेवा सुविधाका लागि प्रयोग गरिनेछ । आफ्नो दैनिक प्रेस ब्रिफिंगको क्रममा उनले महामारीको बीच आफ्नो ज्यानलाई जोखिममा राखेर काम गर्नेलाई तलव बढाएर सेवा सुविधा दिनु आफ्नो दायित्व भएको भन्दै राहत रकमको घोषणा गरेको बताएका छन् । रकमलाई क्यानेडाको विभिन्न प्रान्तमा वितरण गरिने र त्यसपछि ती क्षेत्रका कोरोना लडाईंमा खटिएकालाई दिईनेछ ।
युरोपको दोस्रो प्रभावित मुलुक इटलीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ हजार ९ सय ५८ पुगेको छ । विश्वमै तेस्रो प्रभावित मुलुक बनेको इटलीमा हालसम्म कोरोनाका कारण २ लाख १५ हजारभन्दा बढी संक्रमित भएका छन् ।
स्पेनमा कोरोनाका कारण २६ हजारभन्दा बढीको मृत्यु भएको छ । जबकि स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख २१ हजार नाघेको छ भने फ्रान्समा मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ भने संक्रमित हुनेको संख्या २ लाख ६४ हजार नाघेको छ ।
पछिल्लो समय युरोपमा भने कोरोना महामारीले मृत्यु हुनेको दरमा कमी आएको छ । युरोपका बढी प्रभावित मुलुकहरुमा पछिल्लो समय क्रमशः कोरोनाका कारण मृत्यु हुनेको दरमा कम िआएको छ । फ्रान्समा बुधवार २ सय ७८ जनाको मृत्यु भएको थियो भने त्यो संख्या बिहिवार १ सय ७८ मा झरेको छ । इटलीमा पनि कोभिड–१९ का कारण मृत्यु हुनेको दरमा कमी हुँदै गएको छ । इटलीमा बुधवार २ सय ७४ जनाको मृत्यु भएको थियो भने बिहीवार १ सय मा झरेको छ । यस्तै स्पेनमा बुधवार २ सय ४४ जनाको मृत्यु भएको छ भने बिहीवार त्यो संख्या २ सय १३ मा झरेको छ । यूरोपीय संघको सदस्य देशमा पोल्याण्डमा मृत्यु दर अन्य मुलुकको तुलनामा कम छ । पोल्याण्डमा हालसम्म २२ जनाको मात्रै मृत्यु भएको छ ।
विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस कोभिड–१९ का कारण विश्वभर संक्रमित हुनेको संख्या ३९ लाख नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म विश्वभर कोरोनाका कारण झन्डै ३९ लाख १२ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् । महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघेको छ । संक्रमित भएकामध्ये १३ लाख ४० हजारभन्दा बढी निको भएका छन् ।