भारतको आन्ध्र प्रदेशस्थित केमिकल प्लान्टमा ग्यास चुहिदा आठको मृत्यु, सयौंको अवस्था गम्भीर
एजेन्सी, २५ वैशाख । भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनममा रहेको एक केमिकल प्लान्टबाट ग्यास चुहिदा हालसम्म आठ जनाको मृत्यु भएको छ । विहीबार राती २ बजेतिर भएको ग्यास चुहावटबाट दुई सय भन्दा बढी मानिस गम्भीर बिरामी परेका छन् भने ८६ जनालाई भेन्टिलेटरमा राखिएको जनाइएको छ ।
जिल्ला अधिकारी विनय चाँदका अनुसार घाइतेहरुको उद्धार र अन्यको उपचारका लागि अस्पताल पठाइएको छ । सर्वसाधारण मस्त निन्द्रामा रहेको बेला ग्यास लिक भएका कारण क्षेति धेरै भएको उनको भनाइ छ । स्थानीय प्रहरी कमिस्नर आरके मीनाका अनुसार मृत्यु भएका मध्ये तीन जना प्लान्ट आसपासका छन् । अन्य पाँच जनाको भने किङ जर्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ग्यास कसरी लिक भयो भन्ने बारेमा हालसम्म कुनै जानकारी प्राप्त भएको छैन भो केमिकल प्लान्टविरुद्ध स्थानीय प्रहरीमा उजुरी परेको छ ।
प्रहरीले केमिकल प्लान्टबाट आसपासका पाँच गाउँ खाली गराइसकेको छ । उनीहरुलाई सुरक्षित स्थानमा सरेको प्रहरीको भनाइ छ । ग्यासका कारण सयौं मानिसले आँखा पोल्ने र बालबालिका वृद्धवृद्धालाई श्वासप्रश्वासमा समस्या भइरहेको छ ।
दुर्घटनाका बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीले चासो देखाएका छन् । घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यो केमिकल प्लान्ट पोलिमर्स इन्डिया प्राइभेट लिमिटेडको हो ।