कोरोना भाइरसका कारण विश्वभर ९० हजारभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित
यस्तो छ विश्वका केही गतिविधि
काठमाडौं, २५ वैशाख । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर ९० हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । इन्टरनेशनल काउन्सिल अफ नर्सेजका अनुसार तर, वास्तविक संख्या यसको दुई गुण बढी हुन सक्छ । कोरोनाका कारण विश्वभर २ सय ६० जनाभन्दा बढी नर्सको मृत्यु भइसकेको छ । स्वास्थ्यकर्मीका लागि चाहिने आवश्यक पीपीईको अभावका कारण उनीहरु संक्रमित भएको काउन्सिलको भनाइ छ ।
बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । बेलायत सरकारका अनुसार बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० हजार ७६ जनाको मृत्यु भइसकेको छ । यो संख्यासँगै बेलायत विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक बनेको छ भने युरोपको पहिलो । यसैबीच बेलायती सरकारले मुलुकमा जारी लकडाउनमा छुट दिएको तयारी गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले आउने आइतवारदेखि मुलुमा जारी लकडाउनलाई खुकुलो बनाइने बताएका छन् । उनले मुलुकको बिग्रिदो अर्थव्यवस्थालाई सुधार गर्ने र संक्रमण फैलिन नदिनका लागि सरकारले काम गरिरहेको संसदमा जानकारी गराएका थिए ।
पछिल्लो समय दक्षिणपूर्वी एसियाली मुलुक भारत कोरोनाको केन्द्रबिन्दु बनेको छ । भारतमा हालसम्म कोरोनाका कारण संक्रमित हुनेको संख्या ५० हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा कोरोना भाइरसका कारण ५२ हजार ९ सय ५२ जना संक्रमित भएका छन् । यस्तै भाइरसका कारण १७ सय ८३ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव अमेरिकामाथि परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यदि चीनले समय छदै ठोस कदम चालेको भए यो भाइरस विश्वव्यापी महामारी बन्न सक्दैन थियो भन्दै उनले भाइरसले अमेरिकालाई सबैभन्दा ठूलो क्षति भएको बताए । अमेरिकामा हालसम्म कोरोनाका कारण १२ लाख ६३ हजारभन्दा बढी संक्रमित भएका छन् भने ७४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
जर्मनीका चान्सलर एंगेला मर्केलले जर्मन सरकारले कोरोना भाइरसको प्रसारलाई स्थिर बनाउने लक्ष्य प्राप्त गरिसकेको बताएकी छिन् । जर्मन सरकारले भाइरसको प्रसारलाई नियन्त्रण गर्ने कुरालाई ध्यानमा राखि केहि पसलहरु खोल्ने अनुमति दिएको उनले बताइन् । त्यसबाहेक मानिसलाई आफ्नो परिवारसँग सार्वजनिक स्थानमा गएर खानपान गर्न, वृद्धाश्रममा रहनेलाई भेटघाट गर्न दिने र बालबालिकालाई विद्यालय जान दिनेपनि अनुमति दिइएको उनले बताइन् । साथै मुलुकमा यदि कोरोनाको संक्रमण बढ्यो भने आपतकालिन लकडाउन लगाउन सक्ने पनि उनले बताइन् ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसको बढ्दो संख्यालाई हेरेर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो ४ दिनमा रुसमा कोरोना संक्रमितको संख्या निकै बढेको भन्दै उनले चिन्ता व्यक्र गरेका हुन् । हालसम्म रुसमा कोरोनाका कारण संक्रमित हुनेको संख्या १ लाख ६५ हजारभन्दा बढी पुगिसकेको छ भने १५ सय ३७ जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति पुटिनले लगातार चौथो दिन संक्रमणको १० हजÞार नयाँ केश फेला परेपछि चेतावनी दिएका छन् । उनले आउने दिनमा आवतजावतमा कडाइ गरिने भन्दै सबैलाई सचेत रहन भनेका छन् ।
ईरानमा पछिल्लो २४ घनटामा १६ सय ८० नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै इरानमा कोरोनाका कारण संक्रमित हुनेको संख्या एक लाखभन्दा बढी पुगेको छ । ११ अप्रिलपछि इरानमा एकैपटक यति धेरै संक्रमित फेरि फेला परेका छन् । कोरोना नियन्त्रण गर्ने प्रयासमा केही सफल देखिएको इरानमा लकडाउन खुकुलो बनाउनासाथ नयाँ संक्रमितको दरमा वृद्धि भएको हो । इरानमा हालसम्म कोरोनाका कारण ६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले मुलुकमा जारी गरिएको लकडाउन अचानक हटाउनु उचित नहुने बताएका छन् । मुलुकमा जारी ८ हप्तादेखिको लकडाउन अचानक हटाउँदा त्यसले झन जोखिम निम्तिन सक्ने बताएका छन् । उनले संसदमा लकडाउन बढाउन अनुमपति दिन माग गरेका छन् ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई लिएर सचेत नबने दोहोर्याएर फैलिन सक्नेभन्दै विश्वका मुलुकहरुलाई चेतावनी दिएको छ । संगठनले कोरोना भाइरसलाई लिएर सचेत रहन भन्दै यदि लापरबाही गरियो भने दोहोर्याएर भयावह स्थिति उत्पन्न हुन सक्ने भन्दै चेतावनी दिएको हो । संगठनले कोरोना भाइरसको संक्रमण अहिले पूर्वी यूरोप, अफ्रिका, दक्षिणपूर्वी एशिया, पूर्वी मेडिटरेनियन क्षेत्र र अमेरिकी क्षेत्रमा बढ्दै गएकाले सचेत रहन भनेको छ ।
विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर हालसम्म ३८ लाख २२ हजारभन्दा बढी संक्रमित भएका छन् । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख ६५ हजार नाघेको छ भने संक्रमित भएकामध्ये १३ लाख २ हजारभन्दा बढी स्वस्थ भइसकेका छन् ।