कोरोना भाइरस चीनमा बनाइएको आरोप अमेरिकी वैज्ञानिकले नै गरे अस्विकार
इटलीमा लकडाउन हटाए झन् बढी मृत्यु हुने चेतावनी

काठमाडौं, २४ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना विरुद्धको लडाईंमा खटिएको टास्क फोर्सलाई हटाउने तयारी गरेका छन् । व्हाइट हाउसका अनुसार कोरोना टास्क फÞोर्सले आफ्नो काम राम्रोसँग गरेपनि अब त्यसमा परिवर्तन ल्याउन पर्ने तयारी गरिएको जनाएको छ ।
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले आउने केही सातासम्म कोरोना टास्क फोर्स हटाइसक्ने बताएका छन् ।
विश्वकै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा प्रत्येक दिन औसतमा २० हजार मानिसक कोरोना संक्रमित हुँदैछ छन् प्रत्येक दिन एक हजारभन्दा बढीको मृत्यु भइरहेको छ । अमेरिकामा हालसम्म कोरोनाका कारण १२ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ७० हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ । यो समयमा कोरोना टास्क फोर्सलाई हटाउनाले स्थिति बिग्रिन सक्नेभन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकी सेनाले कोरोना भाइरस चीनमा बनाइएको विषय गलत रहेको बयान दिएका छन् । अमेरिकी सेनाका सबैभन्दा वरिष्ठ अधिकारी चेयरम्यान ज्वाइन्ट चीफÞ अफÞ स्टाफ जनरल मार्क मिलेले कोरोना भाइरस चीनले बनाएको दावीलाई गलत भएको बयान दिएका हुन् ।
मंगलवार पेन्टागनमा पत्रकारहरुसँग कुराकानी गर्दै जनरल मार्क मिलेले कोरोनालाई लिएर यसअघि चीनमाथि लगाइएको सबै आरोपको जवाफ दिँदै भनेका छन् यो विषयमा हामीलाई केही थाहा छैन ।
यस्तै अमेरिकाका वरिष्ट वैज्ञानिक डा.एन्थोनी फाउचीलेपनि चीनमाथि लगाइएको आरोप गलत रहेको बताएका छन् । मंगलवार पत्रकारसँगको कुराकानीमा उनले कोरोना भाइरस चीनको ल्याबमा बनाएको आरोप गलत रहेको दावी गरेका छन् ।
डा.फाउचीले कोरोना भाइरस प्राकृतिक रुपमा नै उत्पन्न भएर विश्वभर फैलिएको भन्दै यो कुनै ल्याबमा नबनाइएको स्पष्ट पारेका छन् ।
दुई दिन पहिले मात्रै अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले दावी गरेका थिए कि अमेरिकासँग पर्याप्त प्रमाण छ जसमा स्पस्ट हुन्छ की कोरोना भाइरसको उत्पति चीनले नै गरेको हो भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेपनि बारम्बार चीनमाथि आरोप लगाउँदै आएका छन् की कोरोना भाइरस चीनकै ल्याबमा बनाइएको हो ।
अमेरिकामा जुन महिनासम्म प्रतिदिन कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजारसम्म पुग्न सक्ने चेतावनी दिइएको छ । ट्रम्प सरकारको एक आन्तरिक रिपोर्ट न्यूर्यार्क टाइम्समा प्रकाशित गरिएको छ ।
यो तथ्यांक हालसको १६ हजार ५० जना मृत्युभन्दा ७० प्रतिशत बढी हुनेछ । अमेरिकाको फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो चेतावनी दिइएको हो । प्रतिवेदनमा यो महिनाको अन्त्यसम्म अमेरिकामा प्रतिदिन दुई लाख नयाँ संक्रमित फेलना पर्न सक्नेपनि जनाइएको छ । जबकी अहिले त्यहाँ २५ हजारसम्म संक्रमित एक दिनमा फेला परिरहेका छन् ।
अमेरिकाको झन्डै आधा राज्यमा लकडाउनलाई खुकुलो बनाइने तयारीको समय यस्तो अध्ययन सार्वजनिक गरिएको छ ।
इटलीमा लकडाउन हटाउँदा अहिलेको भन्दा बढी मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिइएको छ ।
लण्डनको इम्पेरियल कलेजले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार इटलीमा यदि लकडाउन हटाइयो भने त्यहाँ अहिलेकोभन्दा बढी मानिसहरुको मृत्यु हुन सक्ने छ । जसलाई कोरोना भाइरसको अर्को क्रम भनिएको छ ।
इटलीमा ९ मार्चदेखि पूरै मुलुकमा लकडाउन लगाइएको छ र सबैजना घरमै सुरक्षित बसिरहेका छन् ।
बीबीसीका अनुसार इम्पीरियल कलेजको रिपोर्टमा लकडाउनको प्रभाव र त्यसमा यदि छुट दिइयो भने त्यसले पर्ने प्रभावका बारेमा अध्ययन गरिएको छ । जसमा तीन स्थितिलाई समावेश गरिएको छ । पहिलो यदि लकडाउन निरन्तर रह्यो अर्को लकडाउनमा २० प्रतिशतसम्म छुट दिइयो भने र तेस्रो स्थिति जब लकडाउनमा ४० प्रतिशतसम्मको छुट दिइयो भने कस्तो अवस्था हुन्छ ती कुरालाई समावेश गरिएको छ ।
रिपोर्टमा भनिएको छ, यदि २० प्रतिशतसम्म लकडाउनलाई खुकुलो बनाइयो भने मात्रै पनि त्यसले संक्रमणको अर्को चरण सुरु गराउँछ र अहिलेको भन्दा बढी मानिसहरुको मृत्यु हुन सक्छ ।
बेलायत विश्वको दोस्रो कोरोना प्रभावित मुलुक बनेको छ । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण बेलायतमा पछिल्लो २४ घन्टामा ६ सय ९३ जनाको मृत्यु भएको छ । बेलायतका विदेश मन्त्री डोमिनिक रबले कोरोनाका कारण बेलायतमा हालसम्म २९ हजार ४ सय २७ जनाको मृत्यु भइसकेको बताए । योसँगै बेलायत युरोपको पहिलो र विश्वमा दोस्रो कोरोना प्रभावित मुलुक बनेको छ ।
युरोपीय मुलुकमा मृत्यु हुने संख्यामा यसअघि इटली पहिलो मुलुक थियो । इटलीमा हालसम्म कोरोना भाइरसका कारण २९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । ब्राजिलमा एकैदिन ६ हजार ९ सय ३५ कोरोना संक्रमित फेला परेसँगै संक्रमितको संख्या एक लाख १४ हजार ७ सय १५ पुगेको छ । यस्तै कोरोना कारण एकैदिन ६ सयभन्दा बढीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ७ हजार ९ सय नाघेको छ ।
फ्रान्समा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ । फ्रान्स सरकारका अनुसार विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण फ्रान्समा २५ हजार ७ सयभन्दा बढी पुगेको छ भने संक्तमितको संख्या २ लाख नाघेको छ ।
अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण हालसम्म विश्वभर ३७ लाख २६ हजार भन्दा बढी संक्रमित भएका छन् भने २ लाख ५७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यस्तै संक्रमित भएकामध्ये १२ लाख ४१ हजारभन्दा बढी स्वस्थ भएका छन् ।