बेलारुसका १ सय ७० दृष्टिबिहीन बालबालिकामा कोरोना संक्रमण

काठमाडौं, १४ वैशाख । विश्व व्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । अमेरिकी विश्व विश्वविद्यालय जोन हपकिन्सका अनुसार गत डिसेम्बर ३१ म देखिएको कोरोना भाइरका कारण हालसम्म मृत्यु हुनेको संख्या २ लाख ३ हजार २० पुगेको छ ।
यस्तै भाइरसका कारण संक्रमित हुनेको संख्या २९ लाख १५ हजार २ सय ६४ पुगेको छ भने संक्रमित मध्ये ८ लाख ३४ हजार ४ सय १० जनाले कोरोनालाई जितेका छन् ।
भाइरसका कारण सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा मात्रै कोरोना कारण मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ भने अमेरिकामै सबैभन्दा बढी संक्रमित पनि भएका छन् । हालसम्मको तथ्यांक अनुसार अमेरिकाका झन्डै ९ लाख मानिसहरु कोरोनाका कारण संक्रमित भएका छन् ।
विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितमा दोहोर्याएर कोरोना संक्रमण नभएकोबारे हालसम्म कुनै तथ्य फेला नपरेको बताएको छ ।
संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठनले स्वस्थ भइसकेका कोरोना संक्रमितलाई खतरामुक्त भनेर नभन्न चेतावनी दिँदै स्वस्थ भएकामा दोहोरिएर कोरोना संक्रमण हुँदैन भन्ने विषयमा कुनै तथ्य हालसम्म फेला नपरेको बताएको हो ।
संगठनले एकपटक कोरोना संक्रमण भइसकेकोमा एन्टीबडी भएका कारण फेरि दोहोर्याएर कोरोना संक्रमण नहुनेबारे कुनै तथ्य हालसम्म फेला नपरेकाले उनीहरुलाई स्वास्थ्यको पासपोर्ट नदिनपनि भनेको छ ।
बेलारुसका एक सय ७० जना दृष्टिबिहीन बालबालिकामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । बेलारुसको मोगील्भ क्षेत्रमा रहेको एक अनाथ आश्रममा कोरोना परीक्षण गर्दा त्यहाँका दृष्टिबिहीन बालबालिकामा कोरोना पुष्टि भएको हो । अनाथ आश्रमका बालबालिकामा कोरोना पुष्टि भएपछि बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोले बन्दाबन्दीको मापदण्डलाई कडाईका साथ लागू गर्न निर्देशन दिनुभएको छ । बेलारुसमा हालसम्म कोरोनाका कारण ८७ सय ७३ जना संक्रमित भएका छन् भने ६३ जनाको मृत्यु भएको छ ।
विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसकाका कारण रुसमा एकै दिन झन्डै ६ हजार नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा त्यहाँ कोरोनाका कारण ५ हजार ९ सय ६६ नयाँ कोरोना संक्रमित फेला परेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ७४ हजार ५ सय ८८ पुगेको छ । यस्तै कोरोना कारण रुसमा हालसम्म ६ सय ८१ जनाको मृत्यु भएको छ ।
सिंगापुरमा पछिल्लो २४ घन्टामा ६ सयभन्दा बढी नयाँ कोरोना संक्रमित फेला परेका छन् । सिंगापुरको स्वास्थ्य मन्त्रालयका अनुसार सिंगापुरमा थप ६ सय १८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै सिंगापुरमा कोरोनाका कारण संक्रमित हुनेको संख्या १२ हजार ६ सय ९३ पुगेको छ ।
विश्वकै सबैभन्दा ठूलो महादेश एसियामा कोरोनाका कारण ५० लाख ७० हजार मानिस संक्रमणको उच्च जोखिमा रहेको एक तथ्यांकले देखाएको छ ।
जर्मनीमा एकैदिन २ हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा त्यहाँ २ हजार ५५ जना नयाँ कोरोना संक्रमित पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ५२ हजार ४ सय ३८ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा त्यहाँ १ सय ७९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै जर्मनीमा मृत्यु हुनेको संख्या ५५ सय पुगेको छ ।
फिलिपिन्समा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएपछि त्यहाँ मृत्यु हुनेको संख्या ४ सय ९४ पुगेको छ । साथै त्यहाँ हालसम्म ७२ सय ९४ जना कोरोनाका कारण संक्रमित भएको फिलिपिन्स स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै इन्डोनेशियामा कोरोनाका थप ३ सय ९६ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमितको संख्या ८६ सय ७ पुगेको छ । यस्तै कोरोना भाइरसका कारण त्यहाँ मृत्यु हुनेको संख्या ७ सय २० पुगेको छ ।
इरानमा कोरोना भाइरसका कारण थप ७६ जनाको मृत्यु भएको छ । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरका अनुसार त्यहाँ हालसम्म ५६ सय ५० जनाको मृत्यु भइसकेको छ । यस्तै संक्रमित हुनेको संख्या ८९ हजार ३ सय २८ पुगेको छ ।
युरोपको दोस्रो कोरोना प्रभावित मुलुक स्पनेमा पछिल्लो २४ घन्टामा ३ सय ७८ जनाको मृत्यु भएको छ । यो तथ्यांक पछिल्लो एक महिनाको सबैभन्दा कम मानिएको छ । स्पेन सरकारका अनुसार योसँगै स्पेनमा २२ हजार ९ सय २ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या २ लाख २३ हजार ७ सय ५९ पुगेको छ ।