विश्व स्वास्थ्य संगठनका प्रमुखलाई ज्यान मार्ने धम्की



Download our app to get more features

काठमाडौं, २७ चैत । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डाक्टर टेड्रोस अधोनम घेब्रेसुसले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । 

डब्लूएचओको नियमित प्रेस ब्रिफिङको क्रममा उनले विश्वव्यापी महामारीमा राजनीतिकरण गर्दै आफूलाई विभिन्न क्षेत्रबाट ज्यान मार्ने धम्की आएको खुलासा गरेका हुन् । 

उनले आफूमाथि वर्ण र जातलाई लिएर विभिन्न समयमा टिप्पणी हुने गरेको भन्दै अहिलेको यो महामारीबाट लड्न आफूले कसैको पक्ष र विपक्ष नलिएको स्पष्ट पारे । आफूलाई कालो, निग्रो भनेर बारम्बार टिप्पणी हुँदा पनि आफूले त्यसमा कुनै चित्त दुखाई नगरेर कसरी गरिब र विपन्नको स्वास्थ्यलाई राम्रो बनाउने त्यसमा केन्द्रीत गरेको बताए ।

प्रेस ब्रिफिङको क्रममा भावुक बनेका महानिर्देशक डाक्टर टेड्रोसले यो बेला चित्त दुखाएर बस्नुभन्दा पनि मैले मेरो काम र जिम्मेवारी निर्वाह गर्नेमा केन्द्रित गरेको उल्लेख गरे । 

उनले भने, ‘विश्वभर फैलिएको कोविड–१९ को महामारीमा विश्वकै शिर्ष नेताहरुले राजनीतिकरण गर्दैछन् । यो समय राजनीतिकरण गर्नुभन्दा पनि सबै एक हुनुपर्ने हो ।’

उनले कोरोनाका कारण प्रत्येक मिनेटमा मानिसहरुले ज्यान गुमाउँदा त्यसले कसैलाई पनि राम्रो नहुने भन्दै यसबाट कसरी उभ्रिन सकिन्छ त्यसका लागि अमेरिका र चीनले नेतृत्व गर्नुपर्ने सुझाए ।

प्रेस ब्रिफिङका उनले यो भाइरसबाट अझै धेरै मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिँदै यो महामारीलाई रोक्न विश्वभरका सबै दलहरुले आफ्नो ध्यान नागरिकहरुलाई बचाउनमा केन्द्रित गर्नुपर्ने उल्लेख गरे । 

डब्लुएचओको कामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्काे आलोचना गरिरहेका बेला टेड्रोसको यस्तो वक्तव्य आएको हो ।
 

Last modified on 2020-04-09 12:16:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts