डब्लूएचओलाई दिँदै आएको आर्थिक सहयोग कटौती गर्ने अमेरिकाको चेतावनी

अमेरिका, २६ चैत । अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग कटौती चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीबाट लड्नमा डब्लूएचओले सहयोग नगरेको भन्दै आर्थिक सहयोग कटौती गर्ने चेतावनि दिएका छन् । उनले विश्व स्वास्थ्य संगठनले अन्य मुलुकलाई भन्दा बढी चीनलाई प्राथमिकतामा दिएको र चीनबाट ठूलो आर्थिक सहयोग लिएको आरोप समेत लगाएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको वुहानमा कोरोना देखिएपछि अमेरिकाले यात्रामा रोक लगाउँदा डब्लूएचओले त्यसको विरोध गरेको भन्दै डब्लूएचओले मेरो आलोचना गरेको आरोप लगाएका छन् । अन्य मुलुकको भन्दा चीनमाथि बढि ध्यान दिएको हुनाले डब्लूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग कटौती गर्ने बताए ।
ट्रम्पले पत्रकारहरुसँगको कुराकानीमा विश्व स्वास्थ्य संगठनमाथि ठूलो निर्णय गर्न लागेको बताएका छन् । उनले संयुक्त राष्ट्रसंघको निकाय रहेको डब्लूएचओलाई ठूलो आर्थिक सहयोग अमेरिकाबाट हुँदै आएकोले अब त्यसलाई रोक्ने चेतावनी दिएका छन् ।
उनले भनेका छन्, ‘वुहानमा कोरोना देखिनासाथ अमेरिकाले चीनबाट हुने हवाई उडान बन्द गर्ने आफ्नो निर्णयलाई डब्लूएचओले गलत भएको सल्लाह दिँदा पनि त्यो सल्लाह खारेज गर्दा डब्लूएचओको चित्त दुखाइ थियो ।’
यसअघि अमेरिकाका शिर्ष नेताहरुलेपनि विश्व स्वास्थ्य संगठनमाथि पक्षघाती भएको भन्दै संगठन प्रमुखको राजीनामा माग गरिसकेका छन् ।
अमेरिकी सिनेटरहरुले डब्लूएचओका निर्देशक जनरल टेड्रोस अधोनाम गेब्रियेसुसले चीनको गल्तीको कारण कोरोना भाइरस विश्वभर फैलिएको भन्दै राजीनामा माग गरेका थिए ।