कोरोनाबाट विश्वभर संक्रमित हुनेको संख्या १४ लाख, अमेरिकी नेताद्वारा डब्लूएचओ प्रमुखको राजीनामा माग
काठमाडौं, २६ चैत । कोविड–१९ का सबैभन्दा बढी प्रभावित बनेको अमेरिकाको न्यूयोर्क शहरमा एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको छ । योसँग न्यूयोर्कमा मात्रै कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार ४ सय ९ पुगेको छ ।
पछिल्लो समय केन्द्रबिन्दु बनेको अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजारभन्दा बढी पुगेको छ । यस्तै संक्रमित हुनेको सख्ंया ४ लाख पुगेको छ ।
अमेरिकी सरकारले सामाजीक दुरी व्यवस्थापन सम्बन्धी निर्देशिका जारी गरेपनि अमेरिकामा संक्रमित हुनेको दरमा कमी आउन सकेको छैन ।
यस्तै फ्रान्समा मृत्यु हुनेको संख्या १० हजार पुगेको छ भने स्पेनमा मृत्यु हुनेको दरमा कमी आएको छ । स्पेनमा पछिल्लो २४ घन्टामा ७ सय ४३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै स्पेनमा मृत्यु हुनेको संख्या १३ हजार ८ सय ९७ पुगेको छ भने इटलीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ हजार पुगेको छ ।
मुलुकमा जारी लकडाउल उल्लंघन गरेपछि न्युजिल्याण्डका स्वास्थ्यमन्त्री घटुवामा पर्नुभएको छ । कोरोना भाइरस कोभिड–१९ नियन्त्रणको लागि लगाइएको लकडाउनको क्रममा साइकल यात्रामा निस्किनुभएका डेभिड क्लार्क घटुवामा परेका छन् ।
मन्त्रीको जिम्मेवारी खोसेर उहाँलाई सहायक स्वास्थ्यमन्त्रीमा घटुवा गरिएको छ । द गार्जियनका अनुसार क्लार्कले लकडाउनको समयमा परिवारसँग ४० किलोमिटर यात्रा गरेको स्वीकार गरे । उनले यो कामको लागि क्षमायाचना गर्दै आफूले आफैंलाई ‘मूर्ख’को संज्ञा दिए ।
स्वास्थ्यमन्त्रीले लकडाउन उल्लंघन गरेको घटनाको मुलुकभर विरोध भएको थियो । न्युजिल्याण्डमा मार्च २५ मा चार साता लामो लकडाउन शुरु भएपछि उल्लेख्य मात्रामा यसको उल्लंघन पनि भइरहेका छन् ।
यस्तै ट्यूनिशियामा स्वास्थ्यमन्त्रालयको निर्देशन उल्लघंन गर्नेलाई कारबाही गरिने भएको छ । मुलुकमा फैलिँदै गएको कोरोना भाइरसको महामारीलाई ध्यानमा राखि सरकारले जारी गरेको लकडाउन र निर्देशन नमाने कारबाही गर्न ट्यूनिशिया सरकारले भनेको छ । ट्यूनिशियामा हालसम्म कोरोना कारण २२ जनाको मृत्यु भएको छ भने ५ सय ९६ भन्दा बढी संक्रमित भएका छन् ।
अमेरिकाले क्यानेडामा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । केहि समय अगाडी अमेरिकाले क्यानेडामा मास्क निर्यातमा प्रतिबन्ध लगाएकोमा ५ लाख मास्क सहित अन्य स्वास्थ्य सामाग्री निर्यात गर्ने सहमति गरेको क्यानेडेली प्रधानमन्त्री जस्टीन ट्रुड्यूले बताएका छन् । क्यानेडामा हालसम्म कोरोनाका कारण ३ सय ४५ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या १७ हजार पुगेको छ ।
यस्तै भारतमा कोरोना संक्रमित संख्या ५ हजारको नजिक पुगेको छ भने त्यहाँ १ सय २४ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकी वैज्ञानिकले कोरोना भाइरसलाई औषधि नभएसम्म यसलाई जरैबाट हटाउन नसकिने बताएका छन् ।
अमेरिकी व्हाइट हाउसका कोरोना भाइरस टास्क फोर्सका डाक्टर एन्थनी फाउचीले विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसलाई जरैबाट हटाउन खोपको विकास आवश्यक भएको बताए । उनले खोप बिना यो भाइरसलाई जरैबाट कसैलेपनि हटाउन नसकिने उल्लेख गरे ।
विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण हालसम्म विश्वका २ सय ११ वटा देश प्रभावित बनेको छ । तर, तुर्कमेनिस्तानमा हालसम्म कोरोनाको कुनैपनि संक्रमण भएको छैन । तुर्कमेनिस्तानमा कोरोनाको संक्रमण नहुनु थोरै भएपनि सबैका लागि राहतको विषय बनेको छ । तर, वैज्ञानिकहरुका अनुसार तुर्कमेनिस्तान सरकारले कोरोनाको विषयलाई लुकाएको हुनुपर्छ । मध्य एशियामा पर्ने तुर्कमेनिस्तानमा कसरी अहिलेसम्म कोरोना देखिएन भनेर विज्ञहरुले चासो दिन थालेका छन् ।
कोरोना भाइरसलाई लिएर अमेरिकाका नेताहरुहरुे विश्व स्वास्थ्य संगठनका निर्देशक जनरल टेड्रोस अधोनाम गेब्रियेसुसको राजीनामा माग गरेका छन् । अमेरिकी शिर्ष तहका नेताहरुले डब्लूएचओको गल्तीका कारण कोरोना भाइरस विश्वव्यापी महामारी बनेको आरोप लगाएका छन् । अमेरिकी रिपब्लिकनका सांसद म्यार्था म्याकस्यालीले डब्लूएचओका प्रमुख टेड्रोसले चीनको गलत तथ्यांकलाई विश्वास गरेको कारण उनलाई राजीनामा दिनुपर्ने बताए
अमेरिकाको जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाका कारण विश्वभर ८२ हजारको मृत्यु भएको छ भने संक्रमितको संख्या १४ लाख पुगेको छ । कोरोनाबाट संक्रमित भएकामध्ये झन्डै २ लाख ९० हजार नागरिक स्वस्थ्य भएर घर फर्किएका छन् ।