पीपीईको माग गर्दा पाकिस्तानका १३ जना डाक्टर प्रहरी हिरासतमा
अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार पुग्यो
काठमाडौं, २५ चैत । पाकिस्तानमा कोविड–१९ को उपचारमा संलग्न चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।
दक्षिण एसियामा कोरोनाका कारण तेस्रो प्रभावित मुलुक बनेको पाकिस्तानमा व्यक्तिगत सुरक्षा उपकरण पीपीईको माग गरेपछि त्यहाँका दर्जनबढी स्वास्थ्यकर्मीलाई पक्राउ गरिएको हो ।
पाकिस्तानको दक्षिण प्रान्त बलुचिस्तानमा कोरोनाको उपचारमा संलग्न डाक्टरहरुले पीपीई माग गरेपछि १३ जना स्वास्थ्यकर्मीलाई पक्राउ गरिएको त्यहाँका वरिष्ठ प्रहरी अधिकारी रजाक छिमाले बताएका छन् ।
पाकिस्तानमा हालसम्म कोरोनाका कारण ५३ जनाको मृत्यु भएको छ भने ३७ सयभन्दा बढी संक्रमित भएका छन् ।
यस्तै भारतमा पनि कोरोनाका कारण संक्रमित हुनेको दर बढ्न थालेको छ । भारतमा हालसम्म कोरोनाका कारण ४ हजारभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ ।
पाकिस्तानको युवा डाक्टर एशोसिएसन (वाईडीए) ले पीपीई बिना कोरोनाको उपचार नगर्ने घोषणा गरेका थिए ।
विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।
पछिल्लो समय केन्द्रबिन्दु बनेको अमेरिकामा हालसम्म ३ लाख २० हजारभन्दा बढी संक्रमित भएका छन् । कोरोनाकै कारण प्रभावित हुनेमा चौथों स्थानमा रहेको फ्रान्समा पछिल्लो २४ घन्टामा ८ सय ३३ जनाको मृत्यु भएको छ । योसँगै फ्रान्समा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ९ सय ११ पुगेको छ ।
चीनको वुहानबाट सुरु भएको यो भाइरसले सबैभन्दा बढी मानवीय क्षति हालसम्म इटलीमा भएपनि अमेरिकामा बढ्दो संक्रमण र मृत्यु हुने दर डरलाग्दो रहेको अमेरिकी स्वास्थ्य वैज्ञानिकहरुको भनाइ छ ।
अमेरिकाको जोन हपकिन्स विश्वविद्यालयका अनुसार हालसम्म इटलीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ हजार ८ सय ८७ र स्पेनमा १३ हजार ५५ जना पुगेको छ ।
यसैबीच सन् २०१९ की मिस इंगल्याण्ड आफ्नो काममा फर्केकी छिन् । पेशाले डाक्टर पूर्व मिस इंगल्याण्ड भाष मुखर्जी विश्वव्यापी महामारीको लडाइमा साथ दिन आफ्नो चिकित्सकिय पेशामा फर्केकी हुन् ।
यस्तै विश्भवर यो भाइरसका कारण ७४ हजार ६ सय ६ सय ९७ जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या १३ लाख ९ हजार ४ सय ३९ पुगेको छ । कोरोना लागेका झन्डै २ लाख ७८ हजार २ सय १० जना स्वस्थ भएर घर फर्किएका छन् ।