पछिल्लो दुई सातामा कोरोनाका कारण मृत्यु हुनेको दरमा कमी, बेलायती प्रधानमन्त्री जोनसोन अस्पताल भर्ना
काठमाडौं, २४ चैत । विश्वव्यापी महामारी बनेको कोभिड–१९ अर्थात् नोवेल कोरोना भाइरसका कारण पहिलोपटक मृत्यु हुने दरमा कमी आएको छ ।
पछिल्लो दुई सातामा इटली, स्पेन र फ्रान्समा भाइरसका कारण मृत्यु हुनेको संख्यामा कमी आएको हो ।
फ्रान्समा पछिल्लो २४ घन्टामा कोरोनाका कारण मात्र ३ सय ५७ जनाको मृत्यु भएको छ । फ्रान्स चौथों मुलुक हो जहाँ कोरोनाका कारण बढी क्षति भएको छ । फ्रान्समा हालसम्म ८ हजार ७८ जनाको मृत्यु भएको छ भने २८ हजार भन्दा बढी संक्रमित भएका छन् ।
यस्तै सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको इटलीमापनि पनि पछिल्लो २४ घन्टामा मात्र ५ सय २५ जनाको मृत्यु भएको छ । यसअघि मार्च १९ मा इटलीमा सबैभन्दा कम मानिसको कोरोनाका कारण ४ सय २७ जनाको मृत्यु भएको थियो । जबकी इटलीमा एकदिनमा ९ सय भन्दा बढीको मृत्यु हुनेको गरेको थियो । इटलीमा हालसम्म १५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
स्पेनमा पनि लगातार तेस्रो दिन कोरोनाका कारण मृत्यु हुने दरमा कमि आएको छ । स्पेनमा पछिल्लो २४ घन्टामा कोरोनाका कारण ६ सय ७४ जनाको मृत्यु भएको बताइएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १२ हजार भन्दाबढीको मृत्यु भइसकेको छ । त्यहाँ एक लाख ३० हजारभन्दा बढी संक्रमित भएका छन् ।
अमेरिकाको जोन हपकिन्स विश्व विद्यालयका अनुसार न्यूयोर्कमा पहिलो पटक कोरोनका कारण मृत्यु हुनेको संख्यामा कमि आएको छ । न्यूयोर्कमा पछिल्लो २४ घन्टामा कोरोनाका कारण मात्र ५ सय ९४ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ८ हजार ३ सय २७ पुगेको छ । पछिल्लो पटक केन्द्रबिन्दु बनेको अमेरिकामा मात्रै कोरोनाका कारण ३ लाखभन्दा बढी मानिसहरु संक्रमित भएका छन् ।
यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना हुनुभएको छ । कोरोना पुष्टि भएपछि सेल्फ आइसोलेसनमा रहनुभएका जोनसोन १० दिनपछि अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री जोनसोनको स्वास्थ्यमा सुधार नआएपछि उनी अस्पताल भर्ना भएको बताइएको छ । उनमा लगातार कोरोनाको लक्षणले निरन्तरतार देखाएपछि आइतबार अस्पताल भर्ना गरिएको बेलायती स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बेलायतमा हालसम्म कोरोनाका कारण ४ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ भने ४७ हजारभन्दा बढी संक्रमित भएका छन् ।
लिबियाका पूर्व प्रधानमन्त्री महमुद जिब्रिलको कोरोनाको कारण मृत्यु भएको छ । ६८ वर्षका जिब्रिलमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
यस्तै कतारमा थप २ सय ७९ वटा नयाँ संक्रमित फेला परेका छन् । योसँगै त्यहाँ संक्रमितको संख्या एक हजार ६ सय ४ पुगेको छ । इरानमा कोरोनाका कारण ३ हजार ६ सय ३ जनाको मृत्यु भएको छ । इरानका स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरका अनुसार इरानमा पछिल्लो २४ घन्टामा मात्रै एक सय ५० जनाको मृत्यु भएको छ भने ५८ हजारभन्दा बढी संक्रमित भएका छन् ।
साउथ सुडानमा पहिलोपटक कोरोनाका संक्रमित फेला परेका छन् । रुसमा ६ सय ५८ जना नयाँ संक्रमित भेटेका छन् । यस्तै भारतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ३ हजारभन्दा बढी पुगेको छ । त्यहाँ मृत्यु हुनेको संख्या ८९ जनाको मृत्यु भएको छ ।
कोरोनाका कारण विश्वभर ६९ हजार भन्दा बढीको मृत्यु भएको छ भने १२ लाखभन्दा बढी संक्रमित भएका छन् । २ लाख ६१ हजारभन्दा बढी स्वस्थ भएर घर फर्किएका छन् ।